अनुदान उत्पादनमा प्रेरक

कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिहनुभएको छ । विगतमा परम्परागत खोरमा बाख्रा पालेकी गुरुङले अहिले भने आधुनिक बाख्राको खोर निर्माण गर्नुभएको छ ।

दशवटा बाख्राबाट सुरु गर्नुभएकी उहाँका खोरमा २४ वटा बाख्रा भइसकेका छन् । गएको दशैँमा घरमा मासुको व्यवस्थासँगै पाँचवटा पाठा बेचेर अन्य खर्च एवं बैंकको किस्ता आदि तिरेको उहाँको मीठो अनुभव छ ।

विगतमा बाँदरका कारण अन्य खेती गर्न नसकेका अवस्थामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी)बाट प्रदान गरिएको अनुदान सहयोगले यतिखेर गुरुङजस्तै गाउँका २४ महिला बाख्रापालनमा लागेका छन् ।

अन्नपूर्ण पशुपालक समूहमा आबद्ध भएका उनीहरू यतिखेर बाख्रापालन सक्रिय बनेका हुन् । आयोजनाले मासु उत्पादन मूल्य शृङ्खलाअन्तर्गत सम्बन्धित व्यक्ति एवं संस्थाको २० प्रतिशत र बैंकको ३० प्रतिशतः ऋण लगानीसहित आयोजनाबाट ५० प्रतिशत अनुदान दिने गरी प्रस्ताव आह्वान गरेकामा उक्त समूहले सबै प्रक्रिया पु¥याएर सो अनुदान सुविधा लिएको थियो ।

बाख्रापालनका लागि कुल रु एक करोड ९८ लाख लगातमध्ये स्वलगानी रु ३९ लाख, बैंकको रु ५९ लाख र आयोजनाको रु ९९ लाख ४३ हजार रहेको अन्नपूर्ण पशुपालक समूहका सचिव अप्सरा श्रेष्ठले जानकारी दिनुभयो । समूहले आयोजनासँग विसं २०७८ भदौ ३० मा सम्झौता गरी त्यसअनुरुप २०७९ मङ्सिर १२ मा योजना सम्पन्न गरी अनुदानवापतको सम्पूर्ण रकमसमेत भुक्तानी भइसकेको उहाँले जानकारी दिनुभयो ।

आयोजनाअन्तर्गत सुधारिएका खोर निर्माण, खरी बाख्रा तथा ५० प्रतिशत बोयर बोका खरिद, बाख्रापालन व्यवसायीकरण, आधुनिकीकरणले खोरहरूमा यतिखेर बाख्राका पाठा हुर्किँदै गरेको र समूहका कतिपयले बिक्रीसमेत गर्न थालेको उहाँले जानकारी दिनुभयो ।

“अनुदान सहयोगले यसतर्फको आकर्षण बढाउनुका साथै स्वरोरजगार बनाउन टेवा पु¥याएको छ”, उहाँले भन्नुभयो, “समूहबाट दैनिक १९ किलो मासु उत्पादन गर्ने हाम्रो दीर्घकालीन सोच छ ।” समूहले उत्पादित मासुको बजार व्यवस्थापनसमेत गरिसकेको बताउँदै उहाँले उत्पादित बाख्रा, पाठा घर–घरबाटै बिक्रीसमेत हुन थालेको समूहका अर्का सदस्य दुर्गा विकले जानकारी दिनुभयो ।

आयोजनाकै अनुदानप्राप्त पोखरा महानगरपालिका–३१ स्थित चक्रदेवी गुणस्तरीय दूध उत्पादन केन्द्रले सम्झौताअनुसारका काम सम्पन्न गरी अनुदान सहयोगको सम्पूर्ण किस्ता भुक्तानी गरिसकेको छ । अनुदान सम्झौताअनुसार कुल लागत रु एक करोड ३३ लाख ३३ हजार तीन सय २० को ५० प्रतिशत अनुदान एवं स्वलगानी २० प्रतिशत र बैंकको ३० प्रतिशत ऋण लगानी गरी गाईगोठ निर्माण, गाई खरिद र आवश्यक मेसिन औजार खरिद गरिएको केन्द्रका व्यवस्थापक इन्द्रप्रसाद तिवारीले जानकारी दिनुभयो ।

प्राप्त सहयोगसँगै केन्द्रले दूध उत्पादनलाई बढाउन थालेको उल्लेख गर्दै उहाँले हाल करिब सात सय लिटर दूध बजारमा पठाउने गरिएको बताउनुभयो ।

आयोजानबाटै अनुदान प्राप्त गरी जिल्ला सहकारी सङ्घ लिमिटेड कास्कीले दुग्ध प्रशोधन केन्द्रको क्षमता विस्तार गरेको वरिष्ठ व्यवस्थापक भोजराज घिमिरेले जानकारी दिनुभयो । यसअघि २०५७ सालदेखि एक हजार लिटर दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको केन्द्रले अनुदान सहयोग प्राप्त भएसँगै हाल दुई हजार पाँच सय लिटर दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्न थालेको जानकारी दिनुभयो ।

“उपआयोजनापूर्व दूध, दही, पनिरको मात्र उत्पादन गरेका थियौँ, अनुदान सहियोगपछि हाल दूध, दही, पनिर, आइसक्रिम, खुवा र मिठाई आदि वस्तु विविधिकरण गरिएको छ”, उहाँले भन्नुभयो । उपआयोजना सञ्चालनपश्चात ५० जनाले प्रत्यक्ष र एक सय जनाले अप्रत्यक्ष रोजगारी पाएको उहाँले जानकारी दिनुभयो ।

आयोजनाअन्तर्गत गण्डकी प्रदेशअन्तर्गतका जिल्लामा कुल दुई सय ४१ अवधारणापत्र प्राप्त भएकामा फिल्ड भेरिफेकेसनमा एक सय ७८ वटा फार्म एवं संस्था स्वीकृत भएको पूर्ण प्रस्ताव तालिम तथा मूल्याङ्कनपछि ७४ उपआयोजनासँग सम्झौता भएको विकेन्द्रीकरण आयोजना सहयोग एकाइ पोखराका निमित्त प्रमुख डा प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

आयोजनाले सञ्चालन गरेका उपआयोजनाका क्रियाकलापका बारेमा सञ्चार क्षेत्रलाई जानकारी दिने उद्देश्यले बुधबारदेखि सुरु गरिएको सञ्चार अनुगमन (मिडिया मोनिटोरिङ)अन्तर्गत बिहीबार कास्कीका केही उपआयोजनाको प्रत्यक्ष अनुगमन गरिएको आयोजनाका कृषि अर्थविज्ञ सुशील खड्काले जानकारी दिनुभयो ।

कार्यक्रमअन्तर्गत आज म्याग्दी जिल्लामा आयोजनाबाट अनुदानप्राप्त उपआयोजनाको स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको आयोजनाका अनुगमन मूल्याङकन अधिकृत ईश्वरी खतिवडाले जानकारी दिनुभयो ।