घोराही उपमहानगरको नीति तथा कार्यक्रम : कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

दाङ, असार ७ गते । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरुलाल चौधरीले कृषि क्षेत्र समृद्धिको मुख्य आधार रहेकोले खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्द्धन तथा तरकारीमा आत्मनिर्भर हुने गरी मूल बिउ तथा उन्नत बिउ (धान, गहुँ, मकै, तोरी, मसुरो, प्याज र आलु) मा कृषकलाई दिइँदै आएको अनुदानलाई निरन्तरता दिइने बताउनुभयो ।

कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न अधुरो रहेका डिप बोरिङ सञ्चालनमा प्राथमिकता दिइनुका साथै थप सिँचाइ बोरिङ निर्माण कार्यलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।

सूचना प्रविधिको माध्यमबाट कृषकहरूलाई कृषि सम्बन्धी सूचना उपलब्ध गराउन तथा कृषकका समस्या समाधान गर्न घोराही कृषि मोबाइल एप तयार गरी कार्यान्वयनमा ल्याइ किसान परिचयपत्रको समेत व्यवस्था गरिने भएको छ ।

दाङको पहिचानको रूपमा रहेको स्थानीय तोरी र महको उत्पादन बढाउन तोरी खेतीमा सिँचाइको लागि अनुदान तथा तोरीको तेल, बेसार र महको ब्रान्डिङ तथा लेबलिङमा अनुदानको व्यवस्था गरिनेछ ।

नगरभित्र जीवन निर्वाहमुखी पशुपालन गरिरहेका कृषकहरूलाई व्यवसायीकरणतर्फ उन्मुख गराई आगामी तीन वर्षभित्र घोराही उपमहानगरपालिकालाई दुध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराइने नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।

उपमहानगरपालिका अन्तर्गत प्रत्येक नमूना माध्यमिक विद्यालयहरूमा स्वास्थ्यकर्मी व्यवस्थापन गरिनेछ । एक वडा एक नमूना विद्यालय कार्यक्रम अन्तर्गत छनौट गरिएका विद्यालयहरूलाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अभिप्रेरित गर्दै सम्पूर्ण सामुदायिक विद्यालयहरूको विकास गर्न कार्य योजना निर्माण गरिने कार्यक्रम रहेको छ ।

कृषकहरूलाई समयमै मल र बिउ उपलब्ध गराउने व्यवस्था मिलाइने, कृषि बिमा, प्राङ्गारिक खेतीलाई प्रोत्साहन गरिने, कृषि प्रविधिको विकास प्रसार तथा उपयोगबाट कृषि उत्पादन एवं उत्पादकत्व बढाइने, कृषिको व्यावसायिकीकरणमा जोड दिई आय आर्जन तथा रोजगारीका अवसरहरू सृजना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नागरिकको आधारभूत स्वास्थ्य सेवालाई प्रत्याभूत गर्न निर्माणाधीन स्वास्थ्य संस्थाहरूको भवन सम्पन्न गरी सेवा प्रवाह गरिनेछ ।

उपप्रमुख प्रजनन रुग्णता कार्यक्रम अन्तरगत पाठेघर बचाऊँ अभियानमार्फत पाठेघरको भिआईए स्क्रिनिङ्ग गरी पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच गरिनेछ ।

घोराही उपमहानगरपालिकाको नागरिकहरूको उपचारको लागि आवश्यक रगत नेपाल रेडक्रस सोसाइटीको समन्वयमा निःशुल्क रूपमा उपलब्ध गराउन नगर प्रमुख रक्त सञ्चार सेवा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

आमा र नवजात शिशुको जीवन रक्षाको लागि उपप्रमुख आमा नवजात शिशु सुरक्षा खुत्रुके बचत कार्यक्रमलाई निरन्तरता दिइनेछ।

नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराउन सुरक्षित सुत्केरी अभियान सञ्चालन गरिनुका साथै सुरक्षित सुत्केरी अभियानलाई प्रोत्साहित गर्न उपप्रमुख खुत्रुके बचत कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

त्यसै गरी आगामी तीन वर्ष भित्रनगर भित्र रहेका खरका (फुस) छाना हटाइ खरका छाना मुक्तनगर घोषणा गरिनेछ।