युवा पुस्ताको आकर्षण घट्दा हराउँदै आरन

काठमाडौं, असार २० गते । पछिल्लो समय आरन व्यवसायमा युवा पुस्ताको आकर्षण घट्दै गएपछि कञ्चनपुरमा आरन पेसा लोप हुँदै गएको छ । युवा पुस्ताले आरन चलाउन छोडेपछि गाउँ सहरबाट आरन विस्थापित हुँदै गएका हुन् ।
आरन व्यवसाय छोडेर युवा शिक्षा, रोजगारीलगायत सुविधा खोज्दै सहर पस्ने तथा गाउँमा भएकाले पनि जीविकोपार्जनका लागि अन्य पेसा अगाल्न थालेपछि आरन व्यवसाय सङ्कटमा परेको भीमदत्त नगरपालिका–६ का विष्णु लुहारले बताउनुभयो ।
“अहिलेको पुस्ताले आरनमा काम गर्न जान्दैनन्, हामीले बुबाबाजेसँग बसेर आरनको सीप सिकेर जीवन काट्दैछौँ”, उहाँले भन्नुभयो, “अहिले आरन एकाध मात्रै छन्, ती पनि पाका मान्छेले नै चलाएका छन्, युवा आरनमा देखिदैनन् ।” हँसिय, कुटो, कोदालो, बञ्चरोलगायत कृषि औँजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको लुहारको भनाइ थियो ।
युवा पुस्ताले चासो नदिनुका साथै गाउँघरमा कोइलाको अभाव हुन थालेपछि आरन व्यवसाय लोप हुँदै गएको स्थानीय मोहन लुहारले बताउनुभयो । “समय परिवेशअनुरुपको आम्दानी छैन, सहजै कोइला पनि पाइदैन्”, उहाँले भन्नुभयो, “रोजगारीका लागि सहर पस्ने प्रवृत्तिका कारण पनि अहिले युवा पुस्ता आरनबाट पलायन भइरहेका छन् ।”
मोहनका अनुसार युवा आफ्नो पम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेका छन् । “दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण गरेअनुसार ज्याला पाइदैन् । यति मेहनत वैदेशिक रोजगारी वा अन्यत्र गरे मनग्ये आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “त्यहीँ मान्यताले अहिले आरनमा युवा देखिदैनन्, आरन व्यवसाय हराएर जान्छ कि भन्ने चिन्ता छ ।” आरन व्यवसायलाई राज्यले व्यवस्थित गर्न नसक्दा युवा पलाइन हुँदै गएका मोहनको भनाइ थियो ।
पुख्र्यौली पेसाका रुपमा आरन पेसा रहेकाले यसको संरक्षणका लागि सरकारले पहल गर्नुपर्नेमा आरन व्यवसायीले जोड दिनुभयो । “राज्यले पनि हामीलाई हेरेको छैन, केही तालिम नै नलिएर सिकेको सीपबाट जीविकोपार्जन गरिरहेका छौँ”, विष्णु लुहारले भन्नुभयो, “यो सीप अन्यलाई बाँड्न सकेमा युवा जनशक्तिलाई विदेश पलाइन हुनबाट रोक्न सकिन्थ्यो ।” आरन पेसालाई व्यवस्थित गरे युवा पलायन नहुने उहाँको भनाइ थियो ।
आरन पेसा संरक्षण गर्नुका साथै युवा पुस्ताको आकर्षण गर्नका लागि यस पेसालाई व्यवस्थित बनाउँदै आधुनिक उपकरणसँगै बजारिकरणमा सरकारले ध्यान दिनुपर्ने उहाँहरुको भनाइ छ ।