कडीपत्ता बेचेर आम्दानी

कञ्चनपुर, असार २७ गते । भीमदत्त नगरपालिका–९ खल्लाका रङ्गे बुढा ७३ वर्षको पुग्नुभयो । उहाँ डेढ दशकअघि डडेल्धुराबाट बसाइँ सरेर खल्ला झर्नुभएको थियो । जङ्गलमा पाइने कडीपत्ता बिक्री गरेर उहाँले जीविकोपार्जन गर्दै आइरहनुभएको छ ।
“छोराहरु स्वदेशमा काम नपाएर विदेश गएका छन्, घरमा म एक्लै छुँ”, उहाँले भन्नुभयो, “खल्लामा बस्न थालेपछि यहाँको वनमा पाइने कडीपत्ता बेचेर जीवन निर्वाह गरिरहेको छु ।” टुँडिखेलका लोकबहादुर थापाले पनि कडीपत्तालाई आम्दानीको स्रोत बनाउनुभएको छ । बस्ती नजिकैको वनबाट कडीपत्ता सङ्कलन गरेर भारतमा बिक्री गर्ने उहाँले यसबाट मनग्य आम्दानी गर्नहुन्छ ।
“कडीपत्ता सङ्कलन गरेर भारतमा बिक्री गर्छौं, यो काम गर्न थालेको धेरै भयो”, उहाँले भन्नुभयो, “उब्जाउ हुने जमिन छैन, खेतीपाती हँुदैन, कडीपत्ता बेचेरै रासनको जोहो गर्नुपर्छ ।” चुरे भेगमा पर्ने भीमदत्त–९ को खल्ला, मुसेट्टी र टुँडिखेलका स्थानीयवासीको प्रमुख आम्दानीको स्रोत कडीपत्ता बनेको छ । कामका लागि विदेश वा अन्यत्र नगएका यहाँका स्थानीय कडीपत्ता बेचेरै गर्जो टार्ने गरेका छन् । उनीहरु सीमावर्ती भारतीय बजार टनकपुरमा कडीपत्ता बिक्री गर्छन् । कडीपत्ता बिक्री गरेर पाएको रकमले खाद्यान्न किनेर उनीहरु फर्किने गर्छन् ।
कडीपत्ता सुगन्धित मसलालगायत प्रयोजनका लागि प्रयोग गर्ने गरिन्छ । भारतीय बजारमा कडीपत्ताको माग धेरै रहेको लोकबहादुर बताउनुहुन्छ । “सिँचाइको सुविधा छैन, आकाशको पानीको भरमा खेती गर्नुपर्छ”, उहाँले भन्नुभयो, “छ महिना खानलाई पनि अन्न पुग्दैन, कडीपत्ता बेचेर रासन किन्छौँ ।” कडीपत्ता बिक्री गरेर मासिक रु १५ हजारसम्म आम्दानी हुने गरेको स्थानीयवासी सुरेन्द्र कठायतले बताउनुभयो । उहाँका अनुसार सुरुमा कडीपत्ता काटेर घाममा सुकाइन्छ र त्यसपछि पात छुट्याएर बिक्रीका लागि लैजाने गरिन्छ ।
“पँैतीस रुपैयाँ भारु प्रतिकिलोका दरले पत्ता बिक्री हुन्छ, सुकाएर पत्ता छुट्याएपछि बोरामा राखिन्छ”, उहाँले भन्नुभयो, “एक बोरामा ३५÷४० किलोसम्म अटाउँछ, काटेपछि पत्ता दुई पटकसम्म पलाउँछ ।” वनमा पाइने कडीपत्ताबाट आम्दानी हुन थालेपछि स्थानीयले खेतमा पनि रोप्न थालेका छन् । वनमा बेला–बेलामा हुने आगलागीले कडीपत्तालगायत जडीबुटी जलेर नोक्सान भइरहेको स्थानीय धौली पवित्रा बोहराले बताउनुभयो । “हामीसँग धेरै जडीबुटी छन्, तर चिन्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “डढेलोले आम्दानीको स्रोत नोक्सान भइरहेको छ, समयमै स्रोतको पहिचान गरेर सदुपयोग गर्न सकिए राम्रो हुन्थ्यो ।”