काठमाडौं, मंसिर २८ गते । सरकारले पहिलो पटक महिला परराष्ट्र सचिवमा सेवा लम्साललाई नियुक्त गरेको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई क्यानडाका राजदूत सिफारिस भएपछि लम्सालले निमित्त परराष्ट्र सचिवको रूपमा जिम्मेवारी सम्हालिरहनु भएको छ ।
लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षताको बढुवा सिफारिस समितिले लम्साललाई पराष्ट्र सेवाको सेवा समूहीकरणतर्फको राजपत्राकिंत विशिष्ट श्रेणीमा नियुक्त गर्न सिफारिस गरेको थियो । उहाँको एकल नाम सिफारिस भएकाले उहाँ बढुवा हुने निश्चित थियो ।
बिहीबारको मन्त्रिपरिषद बैठकले लम्साललाई परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने गरी सचिवमा बढुवाको निर्णय गरेको हो ।
योसँगै लम्साल नेपालको परराष्ट्र मन्त्रालयमा पहिलो महिला सचिव बनेकी छिन् । लम्सालसँगै नेपाल सरकारको सचिवमा ९ जना महिला सचिव पुगेका छन् ।



