गृहमन्त्रीले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ: माओवादी केन्द्र

काठमाडौँ — भिजिट भिसा प्रकरण पछिल्लो समय पेचिलो बन्दै गएको छ। विपक्षीहरू एक स्वरमा गृहमन्त्रीको राजीनामा माग्दै छन् भने नेपाली कांग्रेस उनको बचाउमा लागेकाे छ ।

सोमबार  बिहान बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टीका प्रवक्ता अग्नि सापकोटाको अनुसार बैठकले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि मन्त्रीको राजीनामा आवश्यक भएको ठहर गरेको छ।

Shivam Cement

सञ्चारकर्मीसँग प्रवक्ता सापकोटाले भने, ‘नैतिकताको आधारमा राजीनामा दिन चौतर्फी आवाज आइराखेको छ । कांग्रेसभित्रका नेताले पनि राजीनामा मागेका छन् । हाम्रो पार्टीको पदाधिकारी बैठकले राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ । ताकि पावर दुरुपयोग हुन नपाओस् । उहाँले तुरुन्त राजीनामा दिनुपर्छ । जति ढिलो भयो उति राज्यको साख गिर्दै जान्छ ।’

यसअघि नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेको छ। सोमबार देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता प्रकाश शरण महतले गृहमन्त्री लेखक दोषी देखिने कुनै आधार नभएको बताए ।