काठमाडौं – तिहार नजिकिँदै गर्दा यस वर्षको यमपञ्चक अवधिमा देशभरको मौसम अधिकांश समय अनुकूल रहने भएको छ । मौसमविद्हरूका अनुसार आगामी एक सातासम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना न्यून रहेको छ । एक–दुई स्थानमा हल्का वर्षा भए पनि त्यसले जनजीवन प्रभावित पार्ने अवस्था नरहेको पूर्वानुमान गरिएको छ ।
यस वर्ष कात्तिक २२ गते काग तिहारबाट यमपञ्चक सुरु हुँदैछ भने कात्तिक २५ गते भाइटीका परेको छ । तिहारका मुख्य दिनहरूमा मौसममा ठूलो फेरबदल नहुने भएकाले पर्व मनाउने सर्वसाधारणदेखि धान भित्र्याउने तयारीमा रहेका किसानसम्मलाई मौसमले साथ दिने देखिएको छ ।
मौसम विज्ञान विभागले आज कात्तिक १९ गतेदेखि २३ गते गाईपूजाको दिनसम्मको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशभर तत्काल ठूलो मौसमी प्रणाली सक्रिय हुने सम्भावना नरहेको जनाएको छ । विभागका अनुसार यो अवधिमा एक–दुई स्थानमा मात्र हल्का वर्षा हुन सक्नेछ । तराई–मधेस, काठमाडौं उपत्यका तथा आसपासका खोँचमा भने बिहानपख हल्का हुस्सु तथा कुहिरो लाग्न सक्ने पूर्वानुमान गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि आगामी एक साताको मौसम तिहारका लागि अनुकूल देखिएको बताएका छन्। उनका अनुसार तिहार अवधिभर व्यापक वा लगातार वर्षा हुने सम्भावना नरहेकाले चाडपर्वका कार्यक्रम सञ्चालन गर्न मौसमले अवरोध गर्ने अवस्था देखिँदैन ।
मौसम सफा र घमाइलो रहने भएपछि तिहारको चहलपहल बढ्ने अपेक्षा गरिएको छ । गाउँघरमा धान काट्ने तथा भित्र्याउने तयारीमा रहेका किसानका लागि पनि यो मौसम अनुकूल हुने डा. पोखरेलको भनाइ छ । लगातार वर्षा नहुने भएकाले कृषि उपज भित्र्याउने काम सहज हुने देखिएको छ ।
तर घमाइलो र सुख्खा मौसमसँगै वायु प्रदूषण बढ्न सक्ने जोखिमतर्फ पनि मौसमविद्हरूले सचेत गराएका छन् । जाडोयाम सुरु भएसँगै वर्षा कम हुने, हावा कमजोर चल्ने र वायुमण्डलमा प्रदूषित कण लामो समयसम्म जम्मा हुने भएकाले प्रदूषणको समस्या बढ्न सक्ने बताइएको छ ।
विशेषगरी उद्योग–कलकारखाना, सवारीसाधन, कृषि गतिविधि तथा पूर्वाधार निर्माणबाट निस्कने धुलो र धुवाँले वायु प्रदूषण बढाउन सक्छ । चाडपर्वका बेला सवारीसाधनको आवागमन र अन्य गतिविधि बढ्ने भएकाले काठमाडौं उपत्यका, तराई–मधेस तथा घना बस्ती भएका क्षेत्रमा प्रदूषणको जोखिम थप बढ्न सक्ने देखिएको छ ।
यसर्थ, तिहारमा वर्षा र खराब मौसमको चिन्ता कम भए पनि घमाइलो मौसमसँगै बढ्न सक्ने वायु प्रदूषण भने चुनौती बन्न सक्ने मौसमविद्हरूको भनाइ छ । कुल मिलाएर आगामी दिनको मौसम तिहार मनाउने, यात्रा गर्ने र कृषि उपज भित्र्याउने कामका लागि अनुकूल रहने देखिएको छ।



