जुम्लाका स्थानीय तहका एम्बुलेन्सबाट बिरामीलाई राहत

काठमाडौँ, जेठ ५ गते । जुम्लाका स्थानीय तहले एम्बुलेन्स सञ्चालनमा ल्याएपछि बिरामीलाई राहत मिलेको छ । सदरमुकाम खलङ्गाबाट टाढा मानिने सिञ्जाका तीन स्थानीय तह हिमा, कनका सुन्दरी र सिञ्जा गाउँपालिकाले एम्बुलेन्सन सञ्चालनमा ल्याएपछि यहाँका बिरामीलाई राहत मिलेको हो ।
एम्बुलेन्स सञ्चालनमा आएसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी पु¥याउन सजह भएको सिञ्जा गाउँपालिका स्वास्थ्य शाखाका प्रमख ललित रोकायाले बताउनुभयो । गाउँपालिकाले बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरेको छ ।
गाउँपालिकाभित्रका सेवाग्राहीका लागि अस्पतालसम्म ल्याउन निःशुल्क सेवा प्रदान गरिएको छ । पालिकाभित्रका ज्येष्ठ नागरिक, गर्भवती महिला, सुत्केरी महिला र कुपोषण बच्चालाई प्राथमिकतामा राखेर कर्णाली स्वास्थ्य विज्ञानसम्म लिन रातदिन सेवा दिएको स्वास्थ्य शाखाका प्रमुख रोकायाको भनाइ छ । अहिलेसम्म ज्येष्ठ नागरिकले ३०, सुत्केरी महिला १०, कुपोषण बालकालिका चार जनालाई निःशुल्क एम्बुलेन्स सेवा लिएको सिञ्जा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
एम्बुलेन्स आउनु अगाडि बिरामीलाई गाडी रिजर्भ गरेर उद्धार गर्ने गरिएकामा अब पालिकाको आफ्नै एम्बुलेन्सबाट बिरामीको उद्धार गर्न सहज भएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो । पालिकाको आफ्नै लगानीमा एम्बुलेन्स खरिद गरिएको हो । पालिकाभित्रका ज्येष्ठ नागरिक, सुत्केरीलाई विशेष सेवा दिएको तिला गाउँपालिका उपाध्यक्ष बुढाको भनाइ छ । जिल्लाको तातोपानी, पातारासी गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।