मिडियालाई सरकारको तर्फबाट कुनै निर्देशन र नियन्त्रण हुँदैन : प्रधानमन्त्री

काठामडौं   — प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेका मिडियालाई सरकारको तर्फबाट कुनै दबाब, निर्देशन र नियन्त्रण नभएको दाबी गरेका छन्।

बुधबार गोरखापत्र प्रकाशनको १२५औं वर्ष प्रवेश तथा संस्थानको ६३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ओलीले ३०-३५ वर्ष अगाडिसम्म मिडियाहरूलाई मनमा लागेको कुरा लेख्ने स्वतन्त्रता नभएको भन्दै अहिले प्रधानमन्त्री र सरकारबाट कुनै प्रकारको दवाब, निर्देशन, नियन्त्रण नभएको दाबी गरे।

उनले भने, ‘गोरखापत्रले धेरै उतारचढाव देखेको छ। यही उतारचढावलाई झेल्दै विकास भएको छ। त्यो बेला कति गाह्रो थियो होला सम्पादकीय लेख्न आज त तपाई के सम्पादकीय लेख्नुहुन्छ त्यसमा कहिले सरकारबाट यसो लेख भनेको आएको छ र? प्रधानमन्त्रीबाट कहिले कुनै प्रकारको दबाब, निर्देशन, नियन्त्रण, इरासा भएको छ र? आँखा पनि झिम्काउदैन त्यता तिर सरकारले। आज त तपाईंहरू जे मनमा लाग्छ त्यही लेख्न स्वतन्त्र हुनुहुन्छ तर ३०, ३५ वर्ष अगाडिसम्म यस्तो स्वतन्त्रता थिएन।’

ओलीले अंग्रेजी भाषाको नक्कल गरेर अहिलेको मिडियाले तल्लो स्तरको भाषा प्रयोग गरेर नेपाली भाषाको कद घटाएको आरोप लगाए। ओलीले हजुरबुबा र नातीका लागि एउटै भाषा प्रयोग गर्न नहुने सुझाव मिडियाहरूलाई दिए।

Laxmi sunrise bank 2034

उनले भने,‘अहिले पनि हाम्रो भाषिक आन्दोलनलाई बचाउने कुरामा गोरखापत्र अगाडि छ। मैले राम्रोसँग याद गरेको छैन, राष्ट्रपतिले भन्नुभयो भन्छ कि भने भन्छ? नातिसँग कुरा गरेर ‘राष्ट्रपतिले उद्घाटन गरे’, यो नेपाली भाषा होइन। राजा हुँदा हेर्दैनथे राजा नजर गर्थे। हाम्रै पत्रपत्रिकामा हेर्नुपर्छ, राजा हुँदा हिँड्दैनथे, सवारी हुन्थ्यो, खाँदैनथे ज्यूनार हुन्थ्यो, बस्दैथे, आराम गर्थे, सुन्दैनथे श्रवण हुन्थ्यो। राजतन्त्र फाल्यौं भनेपछि जनताको छोराछोरी किन मान्ने? यिनलाई सम्मान किन गर्ने ? यु, यु भनेपछि हजुरबुबा पनि भयो नाति पनि भयो। त्यो पो नक्कल गर्नुपर्छ हाम्रोमा भनेर। जो भाषामा गरिब छ त्यसले हाम्रो भाषामा उँचाइ छुन सकेन भनेर हामीले कद घटाउने भाषाको ?’

यस्तै, उनले अनलाइनको समयमा पत्रपत्रिकाको काम छैन भन्ने भाष्य गलत भएको भन्दै गोरखापत्रको सान्दर्भिकता कहिले पनि कम नहुने बताए।

उनले भने, ‘कतिले भन्छन् अनलाइनको समयमा पत्रपत्रिकाको काम छैन। तर वास्तवमा डिजिटलमा खोज्न गाह्रो हुन्छ, राख्न गाह्रो हुन्छ त्यसकारण यो गोरखापत्रको सान्दर्भिकता कहिले पनि कम हुदैन।’