काठमाडौं – पाँच वर्षअघिको राजनीतिक विभाजनले छुट्टाछुट्टै बाटोमा पुगेका दुई कम्युनिस्ट धार फेरि एउटै ठाउँमा देखिन थालेका छन्। यसको पहिलो औपचारिक झल्को ललितपुरको गोदावरीबाट देखिएको छ, जहाँ एमाले र नेकपाका स्थानीय कमिटीले एउटै मञ्चबाट पर्वको शुभकामना आदानप्रदान गर्ने तयारी गरेका छन्।
२०७७ सालमा तत्कालीन प्रतिनिधिसभा विघटनसँगै चर्किएको राजनीतिक विवादले तत्कालीन नेकपालाई विभाजित गर्यो। त्यसपछि एमाले र माओवादी केन्द्र अलग भए। माओवादी केन्द्रको राजनीतिक यात्राले अहिले नेकपाको नयाँ स्वरूप लिएको छ। तर, विभाजनको त्यो घटनाले बनाएको राजनीतिक दूरी भने अझै पूर्ण रूपमा मेटिएको छैन।
त्यही दूरी कम गर्ने अभ्यासका रूपमा गोदावरी नगरपालिका–३ का एमाले र नेकपा वडा कमिटीले शनिबार संयुक्त कार्यक्रम आयोजना गर्न लागेका हुन्। तिहार, नेपाल संवत् र छठ पर्वको अवसर पारेर आयोजना गर्न लागिएको यो कार्यक्रम औपचारिक रूपमा सांस्कृतिक शुभकामना कार्यक्रम भए पनि यसको राजनीतिक अर्थ भने त्यसभन्दा निकै ठूलो देखिन्छ।
किनकि कार्यक्रमको निमन्त्रणापत्रमै दुई फरक राजनीतिक धारलाई एउटै ठाउँमा उभ्याउने प्रयास गरिएको छ। निमन्त्रणापत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) को तस्वीर एकैसाथ राखिएको छ। कुनै समय एउटै पार्टी र एउटै राजनीतिक अभियानका सहयात्री रहेका दुई नेताका तस्वीर फेरि एउटै कार्यक्रमको निमन्त्रणापत्रमा देखिनुले स्थानीय तहमा बदलिँदो राजनीतिक मनोविज्ञानको संकेत गरेको छ।

कार्यक्रमका लागि दुवै दलका वडा नेतृत्वले नेताहरूलाई संयुक्त रूपमा निमन्त्रणापत्रसमेत हस्तान्तरण गरेका छन्। शनिबार बिहान गोदावरी पार्टी प्यालेस, टौखेलमा हुने कार्यक्रमको संयोजन एमाले वडा कमिटी अध्यक्ष प्रल्हाद सिलवाल र नेकपाका भगतमान बम्जनले गर्दैछन्।
यसलाई केवल चाडपर्वको शुभकामना कार्यक्रमका रूपमा बुझ्न नहुने एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यको भनाइ छ। उनका अनुसार पार्टी विभाजनबाट वाम आन्दोलनले ठूलो क्षति व्यहोरेको अवस्थामा अब स्थानीय तहको आगामी निर्वाचनलाई ध्यानमा राख्दै कार्यगत एकता र चुनावी तालमेलमार्फत वाम आन्दोलनलाई पुनर्गठन गर्ने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको हो।
अर्थात्, गोदावरीको यो भेटघाटमा पर्वको शुभकामनासँगै राजनीतिक सम्भावनाको खोजी पनि जोडिएको छ। लामो समय एउटै राजनीतिक छातामुनि रहेका नेता–कार्यकर्ता विभाजनपछि फरक संगठनमा पुगे। अब तिनै कार्यकर्तालाई स्थानीय आवश्यकताका आधारमा फेरि सहकार्यको एउटै बाटोमा ल्याउन सकिन्छ कि सकिँदैन भन्ने परीक्षण पनि यस कार्यक्रमबाट हुन लागेको देखिन्छ।
राष्ट्रिय राजनीतिमा शीर्ष नेताहरूबीचको सम्बन्धले धेरैपटक वाम एकताको बहसलाई जन्माउने र फेरि विवादले त्यसलाई सेलाउने गरेको छ। तर यसपटक पहल माथिबाट मात्र होइन, स्थानीय तहबाट देखिएको छ। वडा तहका दुई कमिटी एउटै कार्यक्रममा उभिन तयार हुनु आफैंमा विगतको तिक्तताबाट बाहिर निस्कने प्रयास हो।
आगामी स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा यस्तो सहकार्यले थप राजनीतिक अर्थ लिन सक्छ। निर्वाचनमा अलग–अलग प्रतिस्पर्धा गर्दा शक्ति विभाजन हुने र त्यसको लाभ अन्य राजनीतिक शक्तिले उठाउने निष्कर्षमा पुगेका स्थानीय वाम नेताहरूका लागि कार्यगत एकता र तालमेल विकल्प बन्न सक्छ।
गोदावरीमा आयोजना हुन लागेको कार्यक्रमले तत्कालै एमाले र नेकपा एउटै पार्टी बन्ने घोषणा गर्दैन। तर, विभाजनपछि बन्द भएको संवादको ढोका भने फेरि खोल्ने प्रयास गरेको छ। राजनीति सम्भावनाको खेल हो भने, कहिलेकाहीँ एउटा संयुक्त निमन्त्रणापत्र पनि ठूलो राजनीतिक सन्देश बन्न सक्छ।
२०७७ सालमा छुट्टिएको बाटो फेरि कहाँ पुगेर जोडिन्छ भन्ने निश्चित छैन। तर ललितपुरको गोदावरीबाट सुरु भएको यो भेटघाटले एउटा प्रश्न भने बलियोसँग उठाएको छ—विभाजनबाट कमजोर बनेका कम्युनिस्ट शक्ति अब प्रतिस्पर्धाभन्दा सहकार्यको बाटो रोज्न तयार हुँदैछन्?



