काठमाडौँ – नेपालमा दूरसञ्चार सेवा गुणस्तर सुधार्न नेपाल टेलिकममा व्यापक रूपान्तरण प्रक्रिया अघि बढाइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनमा कम्पनीले ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार र प्रशासनिक प्रक्रियामा सुधार गर्ने लक्ष्य लिएको छ ।
सञ्चार मन्त्रालयले ‘नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली’ अनुसार तयार पारेको १० बुँदे सुधारात्मक कार्ययोजनामा नेपाल टेलिकमको सेवा सुधारलाई प्राथमिकतामा राखिएको छ । यसअन्तर्गत ग्राहक सेवा सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रयास भइरहेको छ ।
विशेषगरी, डेटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने प्रणाली अब अन्त्य गरिएको छ। ग्राहकले डेटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना पाउनेछन् र ‘पे.एज.यू.गो’ विकल्पमार्फत प्याकेज बिना पनि इन्टरनेट प्रयोग गर्न सक्ने सुविधा उपलब्ध हुनेछ। नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो प्रणाली परीक्षण चरणमा छ र केही दिनभित्र पूर्ण रूपमा लागू हुनेछ ।
साथै, ग्राहक सेवा प्रक्रियालाई सरल बनाउन ‘वन टाइम केवाइसी’ प्रणाली लागू हुने तयारी छ । यसले ग्राहकले एकपटक मात्र विवरण बुझाएपछि भविष्यमा पुनः कागजात पेश गर्नु नपर्ने सुविधा दिनेछ ।
डिजिटल रूपान्तरण अन्तर्गत ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति र सिम स्वामित्व हस्तान्तरण जस्ता सेवाहरू अब घरमै बसेर अनलाइन माध्यमबाट उपलब्ध हुनेछन् । यसका साथै, सबै कार्यालयमा ‘एकल विन्दु सेवा’ सहायता कक्ष स्थापना गरिनेछ, जसले ग्राहकलाई सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ ।
नेपाल टेलिकमले फोरजी मोबाइल नेटवर्कको गुणस्तर सुधारका लागि पनि नीतिगत सुधार र थप फ्रिक्वेन्सी उपलब्ध गराउने तयारी गरेको छ। मन्त्रालयका अनुसार आगामी ३० दिनभित्र यी सुधार कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको छ।



