काठमाडौं महानगरपालिकाले सोमबार ३१ औं स्थापना दिवस मनाउँदै

काठमाडौं – काठमाडौं महानगरपालिकाले सोमबार ३१ औं स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।

महानगरपालिकाका अनुसार सोमबार बिहान ९ बजे सैनिक मञ्च, टुँडिखेलमा स्थापना दिवस समारोह आयोजना हुनेछ । कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी र सांगीतिक प्रस्तुति रहनेछ। साथै विभिन्न क्षेत्रका श्रष्टा व्यक्तित्वलाई सम्मान गरिने काठमाडौं महानगरपालिकाका सूचना अधिकारी नूरनिधि न्यौपानेले जानकारी दिए ।

यसैबीच, स्थापना दिवसकै अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

काठमाडौं महानगरपालिकाले स्थापना दिवसलाई सांस्कृतिक पहिचान, ऐतिहासिक विरासत र नागरिक सहभागिताको पर्वका रूपमा मनाउने जनाएको छ ।