काठमाडौं – नेपाली कांग्रेस ले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न सरकारले गठन गरेको कार्यदलमा सदस्य पठाउनुअघि चार बुँदामा प्रस्टता मागेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार पार्टीका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै कार्यदलको कार्यविधि, कार्यक्षेत्र र विषयवस्तु लगायतका विषयमा स्पष्टता मागेका हुन् ।
कांग्रेसले सरकारको तर्फबाट संविधान संशोधनसम्बन्धी बहस सुरु गरिएको र उक्त विषयमा आफूलाई पत्राचार गरिएको कदमको स्वागत गरेको जनाएको छ । संविधान जारी भएको १० वर्ष पुगेको अवस्थामा नागरिकको भावना र आवश्यकताअनुसार समयानुकूल संशोधन, परिमार्जन तथा अद्यावधिक गर्नु लोकतान्त्रिक प्रक्रिया भएको पनि कांग्रेसको धारणा छ ।
पत्रमा उल्लेख गरिएको छ, “यस कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि मनोनयन गर्नु अघि कार्यदलको विधि, कार्यक्षेत्र तथा विषयवस्तु लगायतका केही विषयमा स्पष्ट हुनु आवश्यक देखिन्छ । यसले कार्यदललाई आफ्नो कार्यसम्पादन गर्न मद्दत पुग्नेछ र संविधान संशोधनका सन्दर्भमा थप स्पष्टता तथा अपनत्व बढ्नेछ ।”
यसअघि सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न प्रधानमन्त्री कार्यालय मातहत रहनेगरी असिम शाह को नेतृत्वमा कार्यदल गठन गरेको थियो ।






