समाजमा भएका विकृति, विसङ्गती र छाडापनहरु त्याग्न आवश्यक छ : अध्यक्ष नेपाल

काठमाडौं — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक रहेको बताएका छन्।

सोमबार काठमाडौंमा अनेरास्ववियूद्वारा आयोजित एसईईमा उतीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा बोल्दै उनले नयाँ समाज र सुन्दर देश बनाउनको लागि समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक रहेको बताए।

Shivam Cement

‘हामी एउटा नयाँ समाज बनाउन चाहन्छौं। सुन्दर देश बनाउन चाहन्छौं। मानिसको जीवन सुखी बनाउन चाहन्छौं,’ उलने भने, ‘त्यसको लागि हाम्रो समाजमा जतिपनि विकृति र विसङ्गतीहरु छन्, छाडापनहरु छन्। त्यसलाई त्याग्नुपर्छ।’

त्यस्तै अध्यक्ष नेपालले जीवन नै संघर्ष भएको भन्दै त्यसैले जीवनबाट थाक्ने कुरा कहिल्यै गर्न नहुने धारणा राखे। चुनौतीहरूको सामना गर्न सक्ने मानिसले नै जीवनमा सफलता हासिल गर्न सक्ने बताउँदै उनले स्तोसुकै अप्ठ्यारो आएपनि पार लगाइन्छ भन्ने संकल्प गर्नुपर्ने बताए।

‘जीवन संघर्ष हो। त्यसैले जीवनबाट थाक्ने कुरा कहिल्यै गर्नुहुँदैन् । समस्याहरु आउँछन् ,चुनौतीहरू आउँछन्, घरका आफ्नो चुनौती हुन्छन्,’ उनले भने, ‘विद्यार्थीहरूलाई आफ्नै चुनौती हुन्छन्, सबै चुनौतीको सामना गर्ने आँट हुनुपर्छ । जसमा आत्माविश्वास छैन। गरिछाड्छु भन्ने संकल्प छैन। यो धर्तीमा त्यसले केही गरिखाँदैन् । गरिखाने मानिसमा आत्माविश्वास हुनुपर्छ ।’