पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

ओखलढुंगा :  सेप्ली झरना जाने झोलुङ्गे पुलमा माथिबाट खसेको ढुङ्गाले क्षति पु-याउँदा पर्यटक तथा सर्वसाधारणलाई आवागमनमा कठिनाइ भएको छ । करिब तीन महिनाअघि खसेको ढुङ्गाले पुलको बीच भागमा क्षति पु¥याएपछि अहिलेसम्म मर्मत नहुँदा जोखिम बढेको स्थानीयको गुनासो छ ।

दसैँ र तिहारलगायत चाडपर्वका बेला गाउँ फर्किएका स्थानीय तथा अन्य आन्तरिक पर्यटकहरू मोलुङ गाउँपालिका–८ स्थित सुन्दर पर्यटकीय स्थल सेप्ली झरना घुम्न आउने गर्छन्। अन्य समयमा छिटफुट आगन्तुक भए पनि चाडपर्वमा झरना हेर्न आउनेको संख्या उल्लेख्य हुने स्थानीय बताउँछन् ।

पर्यटकीय पूर्वाधार विकास योजनाअनुसार गत वर्ष निर्माण गरिएको उक्त झोलुङ्गे पुल यस वर्षै क्षतिग्रस्त भएपछि यात्रुहरूलाई जोखिम मोलेर वारपार गर्नुपरेको स्थानीय दीपक राईले बताए । उनले भने, “बालबालिका र वृद्धवृद्धा त खोला पार गर्नै सक्दैनन्, जोखिम मोलेर पुल पार गर्नुपरेको छ ।”

मोलुङ–८ की आशा राईका अनुसार, पुल क्षतिग्रस्त भएपछि झरनामा यात्रा गर्न जोखिमपूर्ण रहेको सूचना फैलिँदा यस वर्ष पर्यटकको संख्या घटेको छ। उनले सडक स्तरोन्नति नहुँदा वर्षायाममा सवारी सञ्चालनमा पनि समस्या हुने बताइन् ।

पुलमा प्वाल परेर जोखिम बढिरहँदा तत्काल मर्मत नहुनुमा स्थानीयले जनप्रतिनिधिलाई जिम्मेवार ठहराएका छन्। मोलुङ–८ का वडाध्यक्ष सुधीर राईले वर्षायाममा सडक अवरुद्ध भएकाले मर्मतका लागि आवश्यक सामग्री पुलसम्म पु¥याउन नसकिएको बताए । “केही दिनभित्र सडक सञ्चालनमा आएपछि पुल मर्मत सुरु गर्ने तयारी भइरहेको छ,” उनले भने ।

सुन्दर र आकर्षक सेप्ली झरना ओखलढुंगाको प्रमुख आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । तर, आवश्यक पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा यो क्षेत्र अझै ओझेलमा रहेको स्थानीयको भनाइ छ । असोज–कात्तिक महिनामा पोकली, रातमाटे र सेप्ली झरना हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरे पनि यस वर्ष क्षतिग्रस्त पुल र सडक समस्याका कारण पर्यटक आवागमनमा कमी आएको छ ।