काठमाडौंका खुला ठाउँमा फोहर र प्लास्टिक बाल्न नपाईने, उल्लंघन गरे महानगरले १० हजार जरिवाना गारउने

काठमाडौं – काठमाडौं महानगरपालिकाले प्लास्टिक, प्लास्टिकजन्य वस्तु तथा फोहर खुला ठाउँमा बाल्न पूर्णरूपमा रोक लगाएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले यस प्रकारको उल्लंघन गर्नेलाई १० हजार रुपैयाँ जरिवाना हुने चेतावनी जारी गरेको छ ।

चिसो मौसम सुरु भएसँगै फोहर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको हुनाले महानगरले यस्तो कदम उठाएको हो । जाडो महिनामा उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने हुँदा जनस्वास्थ्यमा प्रतिकूल असर नपरोस् भनेर पनि यो निर्णय गरिएको विभागले जनाएको छ ।

विभागकी प्रमुख सरिता राईका अनुसार, वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी जस्ता श्वासप्रश्वासका रोगी, मुटुका बिरामी तथा दीर्घ रोग भोगिरहेका व्यक्तिहरूलाई बढी प्रभावित पार्ने भएकाले सावधानी अपनाउन आदेश दिइएको हो ।

उनका अनुसार, काठमाडौँ महानगरपालिकाले जारी गरेको यो प्रतिबन्ध पालना नगर्नेहरूमाथि वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र आर्थिक ऐन, २०८२ अनुसार कारबाही गरिनेछ ।