सिरहा — मोन्था चक्रवातको कारण भएको बेमौसमी वर्षाले सिरहा जिल्लामा करिब १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानबालीमा क्षति पु-याएको छ । जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका कृषि शाखाबाट संकलित प्रारम्भिक विवरणअनुसार १० हजार ७२८ हेक्टर क्षेत्रफलमा रहेको धानबाली प्रभावित भएको हो ।
कृषि शाखाका विवरणअनुसार लहान नगरपालिकामा सबैभन्दा बढी २,२३२ हेक्टर, औरही नगरपालिकामा १,३५८ हेक्टर र नरहा गाउँपालिकामा करिब ८०० हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ ।
लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साहका अनुसार किसानले लगाएका बासमती र सुक्खा प्रजातिका धानमध्ये करिब ५० प्रतिशत बालीमा क्षति पुगेको छ । उनले भने, “किसानले राम्रो मूल्य पाउने आशामा उन्नत जातका धान लगाएका थिए, तर बेमौसमी वर्षाले ठूलो क्षति पु-यायो ।”
पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फका बोरिङ, भूमिगत सिँचाइ र कमला नहर प्रणालीबाट सिँचित क्षेत्रहरूमा लगाइएका उन्नत जातका धानमा बढी क्षति पुगेको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ ।
केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार पाक्न लागेको धानमा वर्षाले क्षति पु-याएपछि उत्पादन घट्ने निश्चित भएको छ । उनले भने, “धानका बोट ढलेका कारण दाना कुहिने र उत्पादन घट्ने अवस्था देखिएको छ ।”
कृषि ज्ञान केन्द्रका अनुसार सिरहामा ५४ हजार हेक्टरमा वर्षे र १,३४५ हेक्टरमा चैते धानखेती हुँदै आएको छ । अघिल्लो वर्ष ५५ हजार ३४५ हेक्टर क्षेत्रफलमा २ लाख २८ हजार ६९६ मेट्रिकटन धान उत्पादन भए पनि यस वर्ष उत्पादनमा उल्लेख्य कमी आउने अनुमान गरिएको छ ।



