काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि आवश्यक वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एशियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेका छन् ।
सोमबार एडिबी दक्षिण एसिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ र एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वाललगायतको टोलीसँग भएको भेटमा मन्त्री घिसिङले आयोजनाको वित्तीय पक्ष लामो समयदेखि अनिश्चित रहँदै आएको उल्लेख गर्दै यसलाई ढिलो नगरी अन्तिम रूप दिनुपर्ने आवश्यकता औँल्याए ।
दूधकोशी आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर (करिब दुई खर्ब २५ अर्ब रुपैयाँ) हुने अनुमान गरिएको छ । यसमध्ये एक अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी रकम स्वपुँजीबाट जुटाउने तयारी भइरहेको छ। एडिबीको नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट एक अर्ब डलर सहुलियतपूर्ण ऋण जुटाइनेछ, जसमा एडिबीले ५५ करोड डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ। आयोजनाको हाल निर्माणपूर्वका तयारी कार्य भइरहेका छन् ।
भेटमा मन्त्री घिसिङले खानेपानी, सडक, सिँचाइ, विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका क्षेत्रमा थप लगानी आवश्यक रहेको बताउँदै राजधानीका विभिन्न चोकमा ट्राफिक व्यवस्थापन सुधार गर्न फ्लाइओभर र सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि एडिबीको सहयोग मागे ।
उनले एडिबीको सहायतामा सञ्चालन भइरहेका परियोजनामा देखिएका वन क्षेत्र प्रयोग अनुमति, रुख कटान प्रक्रिया, जग्गा प्राप्ति, ऐलानी जमिनको क्षतिपूर्ति तथा अन्य वातावरणीय–सामाजिक सुरक्षा सम्बन्धी समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाए ।
एडिबीतर्फबाट समेत सहायता प्राप्त आयोजना कार्यान्वयन क्षमतामा सुधार, जग्गा अधिग्रहण तथा क्षतिपूर्तिमा देखिएका चुनौती समाधान, र कार्यान्वयन निकायको संस्थागत क्षमता अभिवृद्धिमा सहयोग गर्न आग्रह गरिएको जनाइएको छ



