शीतलहरका कारण राजविराजसहति तीन पालिकामा विद्यालय बन्द

राजविराज – शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा दिएका छन् । चिसो बढ्दै गएपछि बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा आज जारी सूचनाअनुसार नगरपालिकाभरिका सम्पूर्ण विद्यालय पुस १६ देखि १८ गतेसम्म तीन दिनका लागि बन्द रहनेछन् । सोही अवधिका लागि जिल्लाको महादेवा गाउँपालिका र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले पनि विद्यालयमा बिदा दिएका छन् ।

महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा असर पर्ने सम्भावनालाई ध्यानमा राख्दै विद्यालय बिदा दिइएको जानकारी दिनुभयो। यस्तै, अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित सूचनामा पालिकाअन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालय तीन दिनका लागि बन्द गरिएको उल्लेख छ ।

यसअघि सप्तरीकै डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले पनि पुस १८ गते शुक्रबारसम्म पाँच दिनका लागि सबै निजी तथा सामुदायिक विद्यालयमा बिदा दिइसकेका छन् । बोदेबरसाइन नगरपालिकाले पनि बढ्दो चिसोलाई कारण देखाउँदै पुस ९ देखि १३ गतेसम्म विद्यालय बन्द गराएको थियो ।

सप्तरी जिल्लामा शीतलहरको प्रभाव बढ्दै जाँदा बिहान र बेलुका हुस्सु लाग्ने तथा दिउँसो चिसो हावा चल्ने गरेको छ । यसका कारण बालबालिका, वृद्धवृद्धा तथा पशुचौपायासमेत प्रभावित भएका छन् । चिसोका कारण अस्पतालहरूमा बिरामीको चापसमेत बढेको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिक बिरामी आउने क्रम बढेको अस्पताल प्रशासनले जनाएको छ । विशेषगरी रुघाखोकी, ज्वरो र दमका बिरामी उपचारका लागि आउने गरेका छन् । जिल्लाका अन्य स्वास्थ्यचौकीहरूमा पनि बिरामीको चाप बढ्दै गएको छ ।