म्याग्दी — अन्यत्रका बगैँचाबाट सुन्तला सकिएपछि पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले सुन्तलाको दोब्बर मूल्य पाउन थालेका छन् । अन्य जिल्लामा किसानले प्रतिकिलो ७० देखि ८० रुपैयाँमा सुन्तला बिक्री गरेर सकिसकेका बेला बाँसखर्कका किसानले माघ लागेपछि मात्रै सुन्तला टिप्न थालेका हुन् ।
हाल बाँसखर्कको सुन्तला प्रतिकिलो १६० रुपैयाँसम्ममा बिक्री भइरहेको छ भने माघको अन्त्यसम्ममा २०० रुपैयाँ पुग्ने अनुमान गरिएको अगुवा किसान जगतबहादुर खत्रीले बताए ,। “देशका अन्य ठाउँको बगैँचा रित्तिएपछि व्यापारी बाँसखर्क आइपुगेका छन्,”उनले भने,“माघसम्म बोटमै राख्न मिल्ने भएकाले यहाँको सुन्तलाले राम्रो भाउ पाएको हो ।”
पोखरा, काठमाडौँ र चितवनका ठूला व्यापारी बाँसखर्कमै पुगेर सुन्तला खरिद गर्न थालेका छन् । समुद्री सतहदेखि १,१०० देखि १,९०० मिटर उचाइमा रहेको बाँसखर्कका २३९ घरपरिवारमध्ये २०० घरपरिवार सुन्तलाखेतीमा संलग्न छन् । यहाँ एउटा परिवारले वार्षिक न्यूनतम पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
पाँच दशकअघिको सपना, आज गाउँको समृद्धि
बाँसखर्कमा ५३ वर्षअघि बलबहादुर अर्मजा र बलबहादुर खत्रीले सुन्तलाका बिरुवा रोप्दा छिमेकीले ‘खेतीबाली बिग्रन्छ’ भन्दै बिरुवा उखेलेर फालेको स्मरण अझै जीवित छ। तर उनीहरूले सुरु गरेको व्यावसायिक सुन्तलाखेतीले आज सिङ्गो गाउँको आर्थिक र सामाजिक हैसियत फेरिदिएको छ ।
बलबहादुर खत्रीका छोरा नरबहादुर खत्रीका अनुसार २०३२ सालमा रोपिएको सुन्तलाको बिरुवाले अहिले पनि फल दिइरहेको छ । “बुबा बितेको २२ वर्ष भयो,” उनले भने,“हामी दाजुभाइले बर्सेनि १० देखि १३ लाख रुपैयाँसम्मको सुन्तला बेचिरहेका छौँ। सुन्तलाखेती नै हाम्रो पेन्सन बनेको छ ।”
उत्पादन र आम्दानी दुवैमा वृद्धि
बाँसखर्कमा हाल १,५०० रोपनी क्षेत्रफलमा ५१ हजार १५१ सुन्तलाका बोट छन् । यस वर्ष करिब २० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष १८ करोड, २०८० सालमा ११ करोड र त्यसअघिल्लो वर्ष १० करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो ।
ज्योतिमण्डल माध्यमिक विद्यालयका प्रधानाध्यापक मेखबहादुर खत्रीका अनुसार यस वर्ष २६ हजार ७०६ बोटबाट मात्रै करिब २० करोडको उत्पादन भएको छ । थप २४ हजारभन्दा बढी बोट हुर्किंदै रहेकाले केही वर्षमा उत्पादन दोब्बर भएर ४० करोड रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ ।
खेतीबाट आत्मनिर्भरता
धान, कोदो र मकैखेतीले छ महिना पनि खान नपुग्ने अवस्थाबाट सुन्तलाखेतीले किसानलाई आत्मनिर्भर बनाएको छ । वार्षिक २३ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्ने शान्तबहादुर छिन्तेल भन्छन् “पहिले विदेश जान बाध्य थियौँ, अहिले गाउँमै स्वरोजगार बनेर अरूलाई पनि रोजगारी दिन सकेका छौँ ।”
पर्यटनको सम्भावना पनि बढ्दो
पहिले बाँसको जङ्गल र गोठ रहेको बाँसखर्क अहिले ‘सुन्तलाखर्क’ मा परिणत भएको छ। सुन्तला बगैँचा अवलोकन गर्न आन्तरिक पर्यटकसमेत आउन थालेका छन् । म्याग्दी र पर्वतलाई समेट्ने अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गको प्रवेशविन्दु भएकाले यहाँ घरबास कार्यक्रमसमेत सञ्चालनमा आएको छ ।



