घोराही – दाङको एकमात्र भन्सार नाका कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ । आर्थिक वर्ष २०८२/८३ को छ महिनामा कार्यालयले तोकिएको लक्ष्यभन्दा रु आठ लाख ७३ हजार ६३८ कम राजस्व सङ्कलन गरेको हो ।
भन्सार कार्यालयका अनुसार छ महिनाका लागि रु ८४ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो । तर पुस मसान्तसम्म जम्मा रु ७६ लाख २३ हजार ३६२ मात्र सङ्कलन भएको छ, जुन लक्ष्यको ८९.७२३ प्रतिशत हो । कोइलावास भन्सार प्रमुख लोकबहादुर विष्टले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको जानकारी दिए ।
महिनागत रूपमा हेर्दा साउनमा रु १३ लाख ५८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा रु नौ लाख ९० हजार ९७४ सङ्कलन भएको छ । भदौमा रु १४ लाख ९८ हजार लक्ष्य रहेकामा रु छ लाख ६८ हजार ६४९ मात्रै सङ्कलन भएको छ ।
यसैगरी असोजमा रु १४ लाख १७ हजार लक्ष्य रहेकामा रु आठ लाख चार हजार ५५१, कात्तिकमा रु १५ लाख एक हजार लक्ष्य रहेकामा रु नौ लाख ६३ हजार ८३० र मङ्सिरमा रु १३ लाख ८३ हजार लक्ष्य रहेकामा रु आठ लाख ८६ हजार २९५ राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।
पुस महिनामा भने अपेक्षाभन्दा बढी राजस्व सङ्कलन भएको छ । उक्त महिनामा रु १३ लाख ४० हजार लक्ष्य रहेकामा रु ३३ लाख नौ हजार ६३ राजस्व सङ्कलन भएको हो । पुसमा भारतीय पर्यटकको नेपाल आगमन बढेकाले राजस्व सङ्कलनमा वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।
दाङ, रोल्पा र प्युठान जिल्लाका लागि पैठारी हुने व्यापारिक सामान कोइलावास नाकाबाट उल्लेख्य रूपमा भित्रिन नसकेको देखिएको छ । व्यापारीका लागि छोटो नाका भए पनि कोइलावास भन्सारप्रति आकर्षण देखिएको छैन । सहज सडक सञ्जाल हुँदाहुँदै पनि यस नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारी निकायबाट पर्याप्त पहल नभएको स्थानीयको गुनासो छ ।
निजी क्षेत्रले केही प्रयास थाले पनि त्यसले ठोस परिणाम दिन सकेको छैन । हरेक निर्वाचनको समयमा भने कोइलावास भन्सार चर्चामा आउने गरेको छ । हाल प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले पनि कोइलावास भन्सार सञ्चालनको विषयलाई उठाउन थालेका छन् । कोइलावास नाकालाई पूर्ण रूपमा सञ्चालन गरी दाङको विकासमा टेवा पु¥याउने आश्वासन उम्मेदवारहरूले दिन थालेका छन् ।


