‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

काठमाडौं– शरीरमा भिटामिन डी पर्याप्त मात्रामा हुनु अत्यन्त आवश्यक मानिन्छ । सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमै उत्पादन हुने भिटामिन डीको कमी हुँदा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्ने चिकित्सकहरूले बताएका छन् । मासु, अण्डा तथा दुग्धजन्य पदार्थमा भिटामिन डी पाइने भए पनि धेरै अवस्थामा खानपान मात्र पर्याप्त नहुने भएकाले सप्लिमेन्ट आवश्यक पर्न सक्ने उनीहरूको भनाइ छ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन तथा इन्डोक्राइनोलोजिस्ट, एसोसिएट प्रोफेसर डा. कल्याण सापकोटाका अनुसार भिटामिन डीको कमी बच्चादेखि वृद्धसम्म सबै उमेर समूहमा समस्या बन्न सक्छ । ‘सनसाइन भिटामिन’ भनेर चिनिने भिटामिन डी शरीरका लागि हर्मोनजस्तै काम गर्ने उनले बताए । “छालामा घामको प्रकाश पर्दा शरीरले भिटामिन डी उत्पादन गर्छ, तर पछिल्लो समय धेरै व्यक्तिमा यसको कमी देखिन थालेको छ,” उनले भने, ।

डा. सापकोटाका अनुसार नवजातदेखि १२ महिनासम्मका शिशुमा दैनिक ४०० युनिट र वयस्कमा दैनिक १ हजार युनिट भिटामिन डी आवश्यक पर्छ । अस्पतालमा भिटामिन डीको कमीका कारण विभिन्न लक्षण लिएर बिरामी आउने क्रम बढ्दो रहेको उनको भनाइ छ।

भिटामिन डीका मुख्य स्रोत खानपान र घाम भएको उल्लेख गर्दै उनले मासु, अण्डा र दुग्धजन्य पदार्थबाट यसको केही मात्रा प्राप्त हुने बताए । तर अन्य सामान्य खानेकुराबाट पर्याप्त मात्रा प्राप्त नहुने भएकाले फोर्टिफाइड खाना, तेल वा घ्यूमा भिटामिन डी मिसाएर सेवन गर्न सकिने विकल्प रहेको उनले जानकारी दिए । नेपालमा फोर्टिफाइड खाद्य सामग्रीको प्रयोग सीमित रहेको पनि उनले औंल्याए ।

घाम ताप्ने समय र तरिकाबारे सचेत हुन आवश्यक रहेको बताउँदै डा. सापकोटाले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको घाम भिटामिन डी उत्पादनका लागि उपयुक्त हुने बताए । “यो समयमा १० देखि ३० मिनेटसम्म छालामा घाम लागे शरीरमा भिटामिन डी उत्पादन हुन्छ,” उनले भने, । घाम ताप्दा सनस्क्रिन नलगाउने र छाला पूर्ण रूपमा ढाक्ने कपडा नलगाउन सुझाव दिइएको छ । जाडो याममा घामको उपलब्धता कम हुने भएकाले खानाबाट वा सप्लिमेन्टबाट यसको पूर्ति गर्नुपर्ने उनको भनाइ छ ।

भिटामिन डीले क्याल्सियमको सन्तुलन कायम राख्न, हड्डी, मांसपेशी, छाला तथा रोग प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने डा. सापकोटाले बताउनुभयो। पर्याप्त भिटामिन डीले क्यान्सर र सङ्क्रमणको जोखिमसमेत कम गर्ने उनको भनाइ छ ।

भिटामिन डीको कमी हुँदा शरीर दुख्ने, मांसपेशी कमजोर हुने, हड्डी भाँचिने, अत्यधिक थकान, बच्चामा उचाइ कम हुनु र खुट्टा बाङ्गो हुनेजस्ता समस्या देखिन सक्ने चिकित्सकको चेतावनी छ ।