म्याग्दी,– यस वर्ष म्याग्दी जिल्लामा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला जिल्लाको प्रमुख नगदेबालीका रूपमा परिचित छ ।
कृषि विकास कार्यालय म्याग्दीका अनुसार ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १०.५ मेट्रिक टनका दरले कुल ४ हजार ५१५ मेट्रिक टन सुन्तला उत्पादन भएको हा । कार्यालय प्रमुख सञ्जीव बाँस्तोलाले किसानले सरदर प्रतिकिलो रु ७० का दरले सुन्तला बिक्री गरेको जानकारी दिए ।
जिल्लामा कुल ८३५ हेक्टर क्षेत्रफलमा सुन्तलाका बगैँचा रहेका छन् । गत वर्ष ४२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११.२५ मेट्रिक टनका दरले ४ हजार ७८१ मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष रु ३४ करोड बराबरको सुन्तला बिक्री भएकोमा यस वर्ष उत्पादन ५.५६ प्रतिशतले घटेको हो ।
यस वर्ष रोगकीराको प्रकोप नदेखिए पनि बोटमा दाना कम लागेकाले उत्पादन घटेको कार्यालय प्रमुख बाँस्तोलाले बताए । सुन्तलाखेतीमा एक वर्ष धेरै फल्ने र अर्को वर्ष कम फल्ने प्राकृतिक चक्रका कारण उत्पादनमा असर परेको उनको भनाइ छ ।
क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको छ । गत वर्ष प्रतिकिलो रु ६५ मा सुन्तला बिक्री गरेका किसानले यस वर्ष प्रतिकिलो रु ५ बढी मूल्य पाएका छन् । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङ क्षेत्रमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका छन् ।
जिल्ला सदरमुकाम बेनीसहित काठमाडौँ, पोखरा र मुग्लिनलगायत बजारमा सुन्तला बिक्री भइरहेको मङ्गला गाउँपालिका–३ भोर्लेनीका किसान ओम गिरीले बताए । उनका अनुसार यस वर्ष आफ्नो बगैँचाबाट रु ११ लाख बराबरको सुन्तला बिक्री भएको छ ।
यातायात सुविधा सहज भएकाले व्यापारी गाडी लिएर बगैँचामै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय र स्थानीय तहका कृषि शाखाले बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ तथा बजारीकरणमा सहयोग गर्दै आएका छन् ।



