खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

काठमाडौँ – बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य सामग्रीको कृत्रिम अभाव देखिन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको छ ।

विभागका अनुसार उपभोक्तालाई सहज रूपमा अत्यावश्यक वस्तु उपलब्ध गराउने उद्देश्यले उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता तथा सेवाप्रदायक फर्म र प्रतिष्ठानहरूमा अन्य सम्बन्धित निकायसँगको समन्वयमा संयुक्त बजार अनुगमन निरन्तर सञ्चालन गरिएको छ ।

उपभोक्तालाई राहत दिन र कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई मर्कामा पार्नेहरूलाई कारबाहीको दायरामा ल्याउन विभाग सक्रिय रूपमा लागेको जनाएको छ । पछिल्ला दिनमा विशेषगरी खाना पकाउने ग्यासको अभाव देखाएर उपभोक्तालाई सास्ती दिने गुनासो बढेपछि अनुगमनलाई थप प्रभावकारी बनाइएको हो ।

विभागले प्रचलित कानुनविपरीतका कुनै पनि गतिविधि भेटिएमा कडा कारबाही गरिने चेतावनी दिएको छ । यद्यपि नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज रहेको दाबी गरिरहेको छ, उपभोक्ताले भने सहज रूपमा ग्यास नपाएको गुनासो गर्दै आएका छन् । गुनासो बढेपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।