ट्रयाक खुलेको झण्डै दुई दशकपछि सडक कालोपत्र

ढोरपाटन – ट्रयाक खुलेको झण्डै दुई दशकपछि बागलुङ नगरपालिकाअन्तर्गतका तीन ग्रामीण सडक कालोपत्र भएसँगै स्थानीयवासीमा नयाँ उत्साह थपिएको छ । जिल्ला सदरमुकामसँग जोडिने मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी तथा गणेशघुम्ती–निरयघाट सडक खण्ड कालोपत्र भएपछि यात्रा सहज हुनुका साथै स्थानीय उत्पादनको ढुवानी र बजारीकरणमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत मूलपानी–तितौरे सडकको ८.५ किलोमिटर, ओडारचौर–ढोडेनी सडकको २.५ किलोमिटर र गणेशघुम्ती–निरयघाट सडकअन्तर्गत १.५ किलोमिटर गरी कुल १२.२ किलोमिटर सडक कालोपत्र गरिएको हो। विश्व बैंकको करिब ४८ करोड रुपैयाँ अनुदान सहयोगमा निर्माण सम्पन्न गरिएको उक्त सडकले बागलुङ नगरपालिका–१, ४ र ७ वडालाई प्रत्यक्ष रूपमा जोडेको छ ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार लामो समयसम्म कच्ची अवस्थामा रहेको सडकले वर्षायाममा हिलो र हिउँदमा धुलोको समस्या निम्त्याउँदै आएको थियो । कालोपत्र निर्माणपछि ग्रामीण जनताको दैनिकीमा उल्लेखनीय परिवर्तन आउने विश्वास व्यक्त गर्दै उनले सडक पूर्वाधारले स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । “ट्रयाक खुलेको धेरै वर्ष बितिसकेको थियो, तर कालोपत्र नहुँदा धुलो र हिलोले स्थानीय निकै हैरान थिए। अब कालोपत्र सडकले यात्रा मात्र होइन, दैनिकी नै सहज बनाउने अपेक्षा गरेका छौँ,” उनले भने, ।
स्थानीयवासीले पनि सडक स्तरोन्नतिलाई विकासको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। धुलो र हिलोबाट मुक्त भएपछि दैनिक जीवन सहज भएको बागलुङ–१ का तुलसी सापकोटाले बताए । उनका अनुसार केही महिनाअघि सम्म घरअगाडि सवारी गुड्दा धुलो भान्छासम्म पुग्ने समस्या थियो । “अब सडक चिटिक्क बनेको छ, हिँडडुल गर्न र घर वरिपरि बस्न सहज भएको छ,” उनले भने, ।

त्यस्तै, स्थानीय प्रेम विकले सडक कालोपत्र भएपछि सदरमुकाम आवतजावतमा ठूलो परिवर्तन आएको बताउनुभयो। साँघुरो र अप्ठ्यारो सडकका कारण यसअघि बजार पुग्न साढे एक घण्टा लाग्ने गरेकोमा अहिले २५–३० मिनेटमै पुग्न सकिने उहाँको भनाइ छ। यसले शिक्षा, स्वास्थ्य, कृषि उपजको बिक्री तथा अन्य सेवा पहुँचमा सहजता थप्ने अपेक्षा गरिएको छ।

ग्रामीण सडक कालोपत्र भएसँगै बागलुङ नगरपालिकाको दुर्गम क्षेत्र अब पूर्वाधार पहुँचको हिसाबले नयाँ चरणमा प्रवेश गरेको छ । यातायात सुविधा विस्तारले स्थानीय उत्पादनको बजारसम्म पहुँच बढाउने, आपत्कालीन सेवामा शीघ्र पहुँच सुनिश्चित गर्ने र समग्र जीवनस्तर उकास्ने आधार तयार गरेको नगरपालिकाको विश्वास छ। लामो प्रतीक्षापछि सम्पन्न भएको सडक स्तरोन्नतिले ग्रामीण विकासको दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको स्थानीयले बताएका छन् ।