सूर्यलाई अघ्र्य दिँदै वासन्ती छठ सकियाे

महोत्तरी — मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व अन्तर्गतको वासन्ती (चैती) छठ पर्व विधिवत् सम्पन्न भएको छ।

मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका व्रतालुले आज बिहान सूर्योदयसँगै दोस्रो अर्घ्य अर्पण गर्दै चारदिने व्रतको समापन गरेका हुन्। वसन्त ऋतुमा मनाइने भएकाले यसलाई ‘वासन्ती छठ’ तथा चैत महिनामा पर्ने भएकाले ‘चैती छठ’ भनिन्छ।

चैत शुक्ल चौथीदेखि सुरु हुने यो पर्व ‘नहाय–खाय’बाट प्रारम्भ भई ‘खरना’, निराहार व्रत र अर्घ्य अर्पणका चरण पार गर्दै सम्पन्न हुन्छ । षष्ठीका दिन व्रतालुले दिनभर निराहार रही साँझ अस्ताउँदो सूर्यलाई ‘सझुका अरख’ दिने र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई ‘भोरका अरख’ दिएर व्रत समापन गर्ने परम्परा छ।

अर्घ्य दिने क्रममा व्रतालुहरू कम्मरसम्म पानीमा उभिएर सूर्यदेवलाई फलफूल, ठकुवा, कसारलगायत प्रसाद अर्पण गर्छन्। यस पर्वमा स्वच्छता, अनुशासन र सामूहिक सहभागितालाई विशेष महत्व दिइन्छ।

धार्मिक मान्यताअनुसार छठ पर्व सूर्यदेव र षष्ठी माताको उपासनासँग सम्बन्धित छ। पौराणिक कथाअनुसार साम्ब ले रोग निवारणका लागि सूर्य उपासना गरेपछि यस पर्वको सुरुवात भएको विश्वास गरिन्छ। साथै महाभारत कालमा पाण्डवहरूले पनि सूर्य आराधना गरेको जनश्रुति छ।

मिथिला क्षेत्रमा छठ पर्वलाई आस्था र संस्कृतिको प्रतीकका रूपमा मनाइन्छ। यस व्रतले मनोकाङ्क्षा पूरा हुनुका साथै रोगबाट मुक्ति मिल्ने विश्वास रहेको छ।