बागलुङ – लामो समयदेखि जीर्ण अवस्थामा रहेको काठेखोला गाउँपालिका को केन्द्रदेखि रेश जाने सडक अन्ततः कालोपत्र गरिएको छ। दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सडक पाँच वर्षपछि मात्र कालोपत्र भएको हो ।
काठेखोला गाउँपालिका–७ रेश जोड्ने चार किलोमिटर सडक कालोपत्र भएपछि स्थानीयवासीलाई आवतजावतमा सहजता भएको छ । यो सडक गाउँपालिकाकै सबैभन्दा लामो तथा बढी लागतमा निर्माण भएको कालोपत्र सडक बनेको छ ।
गाउँपालिका अध्यक्ष राजु थापा का अनुसार २०७७ जेठमा निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी करिब ६ करोड ७१ लाख रुपैयाँमा सम्झौता गरिएको थियो। तर निर्माण कार्य समयमै पूरा हुन नसक्दा सडकको म्याद छ पटकसम्म थप्नुपरेको थियो ।
सङ्घीय सरकार र गाउँपालिकाको साझेदारीमा सुरु भएको सडक आयोजना समयमै अघि नबढेपछि अन्ततः गाउँपालिकाले आफैं पहल गर्दै करिब चार करोड रुपैयाँ थप लगानी गरेर कालोपत्र कार्य सम्पन्न गरेको अध्यक्ष थापाले बताए ।
यसअघि बर्खामा हिलो र हिउँदमा धुलाम्य सडकका कारण स्थानीयवासी निकै सास्तीमा परेका थिए । सडक कालोपत्र भएपछि अब गाउँपालिकाको केन्द्रबाट रेशसम्म करिब १५ मिनेटमै पुग्न सकिने भएको छ, जसले दैनिक आवतजावत र स्थानीय आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।



