चक्रे मिलन समूहसँग निराजन पौडेल (निरे) पक्राउ

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघमा आवद्ध निराजन पौडेल (निरे) लाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार ज्यान मार्ने उद्योग, हातहतियार तथा अभद्र व्यवहार सम्बन्धी विभिन्न उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पौडेललाई बिहीबार बालुवाटार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनीमाथि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप रहेको छ ।

पक्राउ परेका पौडेलले आफू ठेक्कापट्टाको काममा संलग्न रहेको बताएका छन् । उनी विवादास्पद पृष्ठभूमिका चक्रे मिलन समूहसँग आवद्ध रहेको र सार्वजनिक शान्ति भंग गर्ने गतिविधिमा सक्रिय रहेको प्रहरीको दाबी छ ।

प्रहरीले अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अन्य अभियोगसम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ।