वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व — शनिबार साँझ परेको अविरल वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्गसहित विभिन्न सहायक सडकहरू अवरुद्ध भएका छन् । भारी वर्षासँगै दर्जनौँ स्थानमा लेदोसहितको पहिरो खस्दा मुख्य सडक पूर्ण रूपमा ठप्प भएको हो ।

ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाका अनुसार धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री र सीताला लगायतका स्थानमा पहिरो खसेर लोकमार्ग अवरुद्ध भएको छ। यस्तै मुरुका दुई स्थान र धाउन्ने सडकखण्ड पनि पहिरोका कारण बन्द भएको उनले जानकारी दिए ।
सडक खुलाउन भूमे गाउँपालिकाको स्काभेटरसँग समन्वय गरी पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि निरन्तरको वर्षा र कमजोर भौगोलिक अवस्थाका कारण काममा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले मौसममा सुधार नआएसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

यसैबीच, शनिबार साँझ करिब ६ बजेदेखि जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षासँगै आएको हावाहुरी र असिनाका कारण प्रसारण लाइनमा समस्या आउँदा विद्युत् आपूर्ति ठप्प भएको हो ।

त्यसैगरी, असिनासहितको वर्षाले जिल्लाको कृषि क्षेत्रमा पनि क्षति पुर्‍याएको छ । विशेषगरी गहुँबालीमा क्षति पुगेको स्थानीय कृषकहरूले बताएका छन् ।

लगातारको वर्षा, पहिरो र असिनाका कारण रुकुमपूर्वको जनजीवन प्रभावित बनेको छ भने सडक, विद्युत् र कृषि क्षेत्रमा एकैसाथ समस्या देखिएको छ ।