काठमाडौं – काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनका लागि प्रदान गरिने छात्रवृत्ति छनोट परीक्षामा सहभागी हुन २६ हजार ६८० विद्यार्थी योग्य ठहरिएका जनाएको छ।
महानगरका अनुसार छात्रवृत्ति परीक्षाका लागि आवेदन दिएका २६ हजार ८८८ विद्यार्थिमध्य २०८ जनाको आवेदन अस्वीकृत भएपछि बाँकी विद्यार्थी परीक्षा दिन योग्य भएका हुन् ।
शिक्षा अधिकृत तथा परीक्षा समितिका सदस्यसचिव रामचन्द्र खड्काले परीक्षार्थीहरूले आवेदन दिएको सोही प्रणालीमार्फत प्रवेशपत्र प्राप्त गर्न सक्ने जानकारी दिनुभयो। उहाँका अनुसार प्रवेशपत्रमा परीक्षा केन्द्र र परीक्षार्थीले पालना गर्नुपर्ने नियमहरू समेत उल्लेख गरिएको छ।
खड्काले छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीको नाममा अरू कसैले परीक्षा दिन नपाओस् भन्ने उद्देश्यले प्रवेशपत्र अनिवार्य रूपमा रङ्गीन प्रिन्ट गर्नुपर्ने व्यवस्था गरिएको बताए । उनले ब्ल्याक एन्ड ह्वाइट प्रिन्ट गरिएको वा फोटो तथा विवरण स्पष्ट नभएको प्रवेशपत्रलाई मान्यता नदिइने स्पष्ट पारे ।
काठमाडौं महानगरपालिकाले २०८० सालदेखि नीतिगत व्यवस्था गरी महानगर क्षेत्रभित्र कक्षा ११ र १२ सञ्चालन गर्ने संस्थागत विद्यालयहरूमा छात्रवृत्ति प्रदान गर्न प्रवेश परीक्षा सञ्चालन गर्दै आएको छ। यस वर्षको छात्रवृत्ति छनोट परीक्षा आगामी जेठ १७ गते सञ्चालन हुने तय गरिएको छ।
परीक्षार्थीहरूले महानगरको आधिकारिक पोर्टल ‘इन्ट्रान्स डट काठमाडौं डट जिओभी डट एनपी’ मा लगइन गरेर प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन्। लगइनका लागि एसइईको सिम्बोल नम्बर युजरनेमका रूपमा प्रयोग गर्नुपर्नेछ। त्यसपछि जन्ममिति र इमेल वा मोबाइल सन्देशमार्फत प्राप्त पासवर्ड प्रविष्ट गरेपछि प्रवेशपत्र डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।
महानगरले परीक्षा केन्द्रमा प्रवेशपत्रसँगै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात, जस्तै एसइई प्रवेशपत्र, विद्यालयको परिचयपत्र वा नागरिकताको प्रमाणपत्र अनिवार्य रूपमा साथमा ल्याउन निर्देशन दिएको छ। साथै प्रवेशपत्रको पछाडिपट्टि उल्लेख गरिएका परीक्षा सम्बन्धी नियम तथा आचारसंहिता पालना गर्न पनि आग्रह गरिएको छ। नियम उल्लङ्घन गर्ने परीक्षार्थीको परीक्षा रद्द गरिनुका साथै कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।
परीक्षा सञ्चालनको तयारीस्वरूप शिक्षा विभागले केन्द्राध्यक्षहरूको अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिसकेको जनाएको छ। निष्पक्ष र मर्यादित वातावरणमा परीक्षा सञ्चालन गर्न तथा विद्यार्थीलाई अनावश्यक दबाब नदिई सहज रूपमा परीक्षा दिन सहयोग गर्न केन्द्राध्यक्षहरूलाई निर्देशन दिइएको छ।
शिक्षा अधिकारी नमराज ढकालका अनुसार कक्षा १० सम्मको छात्रवृत्तिका लागि वडास्तरीय समितिले सिफारिस गर्ने व्यवस्था रहेको छ भने कक्षा ११ र १२ का लागि शिक्षा विभागले परीक्षा सञ्चालन गरी नतिजाका आधारमा छात्रवृत्ति सिफारिस गर्ने व्यवस्था कायम रहेको छ।



