काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारको मुख्य ध्यान देशको आर्थिक स्रोत वृद्धि र निर्यात विस्तारमा केन्द्रित रहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सरकारले देशभित्र उत्पादन भएका वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरण बनाइरहेको स्पष्ट पारे।
उनका अनुसार निर्यातमा लाग्ने करहरूमा अस्थायी छुट दिइएको छ र नेपाललाई निर्यातमुखी अर्थतन्त्रतर्फ उन्मुख गराउने उद्देश्यले आवश्यक नीति अघि बढाइएको छ। प्रधानमन्त्री शाहले देशभित्र उत्पादन भएका वस्तुहरूलाई विभिन्न राष्ट्रमा सहज रूपमा निर्यात गर्न सकिने व्यवस्था मिलाउन सरकारले काम गरिरहेको बताए।
प्रधानमन्त्री शाहले अहिलेको अवस्थामा आत्मविश्वास निर्माणभन्दा पनि आर्थिक स्रोत वृद्धि र वित्तीय सबलीकरण प्राथमिक आवश्यकता भएको उल्लेख गरे।
“अहिले देशमा आत्मविश्वास बढाउनेभन्दा पनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गएको छ,” उनले संसद्मा भने।
सरकारले आगामी दुई वर्षका लागि निर्यातसँग सम्बन्धित केही कर तथा नीतिगत व्यवस्था अस्थायी रूपमा स्थगित गरेको पनि प्रधानमन्त्रीको भनाइ छ।
सरकारले उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन र विदेशी मुद्रा आर्जन बढाउने लक्ष्यसहित आर्थिक नीतिहरू अघि बढाइरहेको उनले बताए।



