बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो होः अर्थमन्त्री वाग्ले

काठमाडौं — अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरिएको बजेट महत्वाकांक्षी नभई राज्यको क्षमता र स्रोतअनुकूल रहेको बताए ।

आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले विगतका वर्षहरूमा बजेटको आकार र कार्यान्वयन क्षमताबीच ठूलो अन्तर देखिने गरेको उल्लेख गर्दै यसपटकको बजेट भने कार्यान्वयनयोग्य दायराभित्र रहेको दाबी गरे ।

“विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुने गर्दथ्यो । तर यसपटक त्यस्तो अवस्था छैन। बजेट महत्वाकांक्षी छैन, वाञ्छित सीमाभित्रै आएको छ,” उनले भने ।

अर्थमन्त्री वाग्लेका अनुसार आगामी आर्थिक वर्षको बजेट कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा २८ दशमलव ५ प्रतिशत मात्र रहेको छ । उनले बजेटको आकारलाई जिडिपीको अनुपातमा हेर्दा यो अपेक्षाकृत सन्तुलित र यथार्थपरक रहेको बताए ।

नेपालको बजेट निर्माण प्रक्रियामा सन् २०१४ देखि प्रत्यक्ष रूपमा संलग्न रहेको उल्लेख गर्दै उनले सन् २०१५ को विनाशकारी भूकम्पपछि बजेटको आकार उल्लेख्य रूपमा बढ्न थालेको स्मरण गरे ।

“भूकम्पअघि हाम्रो बजेटको आकार जिडिपीको तुलनामा औसतमा २५ देखि २९ प्रतिशत र वास्तविक खर्च २२ देखि २५ प्रतिशतको हाराहारीमा हुन्थ्यो,” उनले भने,“तर भूकम्पपछि बजेटको आकार बढ्दै गयो र कुनै वर्ष जिडिपीको तुलनामा बजेटको आकार ३७ प्रतिशतसम्म पुगेको थियो ।”

उनले विगतको तुलनामा यसपटक बजेटलाई स्रोत, खर्च क्षमता र कार्यान्वयन अवस्थासँग मिलाएर ल्याइएको बताउँदै बजेटको सफल कार्यान्वयनमा सरकार केन्द्रित रहने धारणा व्यक्त गरे ,।