मौसम सुध्रिएपछि धवलागिरि आरोहण पुनः सुरु, चुचुरोतर्फ अघि बढ्यो टोली

म्याग्दी – प्रतिकूल मौसमका कारण स्थगित भएको धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनः सुरु भएको छ । भारी वर्षा र हिमपातका कारण आधार शिविरबाट फर्किएका पर्वतारोही मौसममा सुधार आएपछि पुनः आधार शिविर पुगेर चुचुरोतर्फ अघि बढेका हुन् ।

विश्वको सातौँ अग्लो ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित छ । असोजको पहिलो सातादेखि प्रतिकूल बनेको मौसमका कारण रोकिएको आरोहण अनुकूल मौसम सुरु भएसँगै पुनः अघि बढेको हो ।

सेभेन समिट ट्रेकका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंका अनुसार डोरी टाँग्ने टोली क्याम्प दुईभन्दा करिब ४०० मिटर माथिसम्म पुगेको छ । कम्पनीका नेपाली तथा विदेशी गरी १४ जना आरोही तथा सहयोगीलाई प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट उद्धार गरी असोज ८ गते पोखरा ल्याइएको थियो ।

“हाम्रो कम्पनीका नेपाली र विदेशी १४ जनालाई प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट उद्धार गरेर असोज ८ गते पोखरा ल्याएका थियौँ”, गुरागाईंले भन्नुभयो, “मौसम सुधार भएपछि अक्टोबर १ मा पोखराबाट हिँडेको टोली आधार शिविरबाट चुचुरोतर्फ अघि बढेको छ ।”

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै भएको भारी हिमपातले धवलागिरि हिमालको आधार शिविर हिउँले पुरिएपछि आरोहण टोली फर्किएको थियो । मौसममा सुधार आएपछि आधार शिविरमा रहेका सदस्यले हिउँ हटाउने, शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरेर पुनः अभियान सुरु गरेका हुन् ।

आरोहण टोलीका प्रमुख लाक्पा शेर्पाले सामाजिक सञ्जालमार्फत मौसममा सुधार आएपछि आरोहणको काम पुनः अघि बढेको जानकारी दिएका छन् । उनका अनुसार अहिले हिउँ जमेर कडा र स्थिर अवस्थामा रहेकाले हिँडडुल गर्न तुलनात्मक रूपमा सहज भएको छ । भारी हिमपातपछि अस्थिर हिउँको ठूलो हिस्सा हटेकाले हिमपहिरोको जोखिम पनि अहिले तुलनात्मक रूपमा कम रहेको उनले बताए ।

पर्यटन विभागका अनुसार चालु शरदयाममा धवलागिरि आरोहणका लागि चार समूहका ३६ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा २६ पुरुष र १० महिला छन् । आरोहण अनुमतिबापत सरकारले ८२ लाख ४२ हजार ५० रुपैयाँ दस्तुर संकलन गरेको विभागले जनाएको छ ।

धवलागिरि आरोहणका लागि अनुमति लिएका अन्य कम्पनीका पर्वतारोहीको टोली पनि आधार शिविर पुगिसकेको म्याग्दीको दानाका व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिएका छन् । मौसम अनुकूल रहेमा विभिन्न समूहले आरोहणको प्रयासलाई थप तीव्रता दिने अपेक्षा गरिएको छ ।

गत वसन्तयाममा धवलागिरि आरोहणका लागि दुई समूहका आठ महिलासहित १७ जनाले अनुमति लिएका थिए । छिनछिनमै परिवर्तन भइरहने मौसम यस हिमालको आरोहणमा प्रमुख चुनौती मानिन्छ । अन्य हिमालको तुलनामा धवलागिरिको आरोहण कठिन, जोखिमपूर्ण र साहसिक मानिने भएकाले पर्वतारोहीले मौसम तथा हिमपहिरोको अवस्थालाई विशेष ध्यान दिनुपर्ने हुन्छ ।

धवलागिरि हिमालमा सन् १९६० मे १३ मा पहिलोपटक सफल आरोहण भएको थियो । म्याक्स आइसेलिनको नेतृत्वमा रहेको स्विस–अस्ट्रियाली संयुक्त आरोहण दलले पहिलोपटक यसको चुचुरोमा पाइला राखेपछि यहाँ व्यवस्थित रूपमा आरोहण सुरु भएको हो । आरोहण सुरु भएको ६६ वर्षको अवधिमा ७३३ जना पर्वतारोही धवलागिरिको शिखरमा पुगिसकेको विवरण छ ।

धवलागिरि हिमाल आरोहणका अतिरिक्त यस क्षेत्रमा पदयात्राका लागि पनि पर्यटक पुग्ने गरेका छन् । ‘राउन्ड धवलागिरि’ पदमार्ग बगर, सल्लाघारी, इटाली आधार शिविर, जापानी आधार शिविर, धवलागिरि आधार शिविर, हिटिनी भ्याली आधार शिविर र याकखर्क हुँदै मुस्ताङको मार्फामा पुगेर टुङ्गिन्छ । करिब नौ दिनमा पूरा गर्न सकिने यो पदयात्राले हिमाली प्राकृतिक सौन्दर्य र दुर्गम बस्तीको अनुभव लिन चाहने पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

मौसममा आएको सुधारसँगै पुनः सुरु भएको आरोहणले यस शरदयाममा धवलागिरिको चुचुरो चुम्ने पर्वतारोहीको प्रयासलाई नयाँ गति दिएको छ । यद्यपि, उच्च हिमाली क्षेत्रमा मौसमको अनिश्चितता कायम रहने भएकाले आरोहणको सफलता सुरक्षित मौसम र अनुकूल हिमाली अवस्थामै निर्भर रहनेछ ।