काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाएर पुँजीगत खर्चमा विशेष महत्व दिइरहेको बताएका छन् । ३१औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख शाहले बहाल करको क्षेत्र विस्तार र सङ्कलित राजस्व नागरिककै हितमा प्रयोग भइरहेको जानकारी दिएका छन् ।
प्रमुख शाहका अनुसार महानगरले धुलोरहित सडक कार्यक्रम अन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न गरेको छ भने ६२ चोकमा हाईमास्ट लाइट जडान गरिएको छ । साथै पाँच हजार ३१८ पोलमा १३ हजार ३४० बत्ती जडान गरी रात्रिकालीन सहरी सौन्दर्य विस्तार गरिएको छ । गत आर्थिक वर्षमा दुई अर्ब ८६ करोड रुपैयाँ बराबरका पूर्वाधार योजना सम्पन्न भएका छन् ।
सम्पदा संरक्षणका क्षेत्रमा करिब ९१ करोड रुपैयाँको लागतमा २७६ मूर्त र १२५ अमूर्त सम्पदा कार्यक्रम सञ्चालन गरिएको प्रमुख शाहले जानकारी दिए । महानगरले हालसम्म २३ अर्ब रुपैयाँ बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिसकेको छ भने आगामी दिनमा दुई खर्ब रुपैयाँ बराबरको १,८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गर्ने लक्ष्य रहेको उनले बताए ।
महानगरले स्थानीय स्रोतसाधन र रैथाने सीपको उपयोग गर्दै ‘एक वडा–एक कार्यक्रम’ सञ्चालन गरिरहेको छ । स्वास्थ्य क्षेत्रमा १,०८६ विपन्न नागरिकको उपचार सिफारिस, २१० जनाको निःशुल्क उपचार, ३५ स्वास्थ्य संस्था र जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको छ।
विद्युतीय शासनअन्तर्गत इ–सिफारिस र इ–कार्यालय प्रणाली कार्यान्वयनमा ल्याइएको छ भने १५२ आगलागी घटना र १४३ जोखिमयुक्त रुख व्यवस्थापन गरिएको छ । १६४ योजनाको विस्तृत डीपीआर तयार भएको र २५१ योजनाको बोलपत्र खरिद गर्दा १ अर्ब २३ करोड रुपैयाँ बचत भएको जानकारी पनि प्रमुख शाहले दिएका छन् ।
साथै, कल सेन्टर र हेलो सरकारमार्फत प्राप्त नौ हजारभन्दा बढी गुनासामध्ये अधिकांश फछ्र्यौट गरिएका छन् । तीस हजार ३२३ ज्येष्ठ नागरिकलाई मासिक रु चार हजार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
प्रधान शाहले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाको प्रभावकारी कार्यान्वयनबाट काठमाडौँवासीले महानगरमा बसोबास गर्वका साथ गर्न सक्ने वातावरण बनाइने प्रतिबद्धता व्यक्त गरे ।



