आजदेखि बडादसैँ सुरु, ११ः४७ बजे घटस्थापनाको साइत

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै दसैँको धार्मिक अनुष्ठान आरम्भ भएको हो । आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी शक्तिस्वरूपा दुर्गा भवानीको आह्वानसहित पूजा आराधना गरिँदैछ । दसैँको पहिलो दिन जमरा राख्ने परम्पराअनुसार पूजा कोठा तथा दसैँ घरमा जौँ रोपेर नवरात्र सुरु गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने बडादसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा लिइन्छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो पर्वमा दुर्गा भवानीको पूजा आराधना, मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण तथा परिवारका सदस्यसँग भेटघाट गर्ने परम्परा छ ।

आज बिहान नित्यकर्म पूरा गरी नदी वा चोखो स्थानबाट बालुवा अथवा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दसैँ घरमा राखी त्यसमाथि जौँ रोप्ने गरिन्छ । यसैलाई जमरा राख्ने भनिन्छ । जौँको अङ्कुरलाई दुर्गा देवीको प्रिय वस्तु मानिने भएकाले विजयादशमीका दिन देवीको प्रसादका रूपमा टीकासँगै पहेँलो जमरा ग्रहण गर्ने धार्मिक चलन छ । जमरालाई समृद्धि, शुभता र विजयको प्रतीकका रूपमा समेत लिइन्छ ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार शास्त्रीय विधिमा जमराका लागि जौँबाहेक अन्य अन्न रोप्ने व्यवस्था छैन । यद्यपि कतिपय परिवारमा कुल परम्पराअनुसार जौँसँगै अन्य अन्नसमेत रोप्ने चलन छ । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गर्ने गरिएको छ ।

आज घट अर्थात् कलश स्थापना गरी त्यसमा देवीको आह्वान गरेर पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भनिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष घटस्थापनाको शुभ साइत बिहान ११ः४७ बजे निर्धारण गरेको छ । दिनभर चित्रा नक्षत्र रहने भएकाले मध्याह्नकालको अभिजित् मुहूर्तलाई आधार मानेर साइत निर्धारण गरिएको समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन् ।

सूर्योदयकालमा प्रतिपदा तिथि परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजकै दिन घटस्थापना गर्ने निर्णय गरिएको समितिले जनाएको छ । सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलाइएको सूचनाको कुनै शास्त्रीय आधार नरहेको अध्यक्ष भट्टराईले स्पष्ट पारे ।

दसैँको नवरात्रभर दुर्गा भवानीका तीन प्रमुख स्वरूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाकालीलाई शक्तिको, महालक्ष्मीलाई धनधान्य र ऐश्वर्यको तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ । दुर्गा पक्षका अवसरमा देवीका नौ स्वरूपको विशेष आराधना गरिने भएकाले यस अवधिलाई नवरात्र पनि भनिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ । देवीका यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ । धार्मिक मान्यताअनुसार दुर्गा भवानीले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायत आसुरी शक्तिको विनाश गरी सत्य र धर्मको रक्षा गरेकी थिइन् ।

दुर्गा पूजा कुनै जात वा धर्म विशेषमा मात्र सीमित नभई समस्त मानव जातिको कल्याणसँग जोडिएको धार्मिक परम्परा रहेको धर्मशास्त्रविद् गौतम बताउछन् । नवरात्रका अवसरमा दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठपारायण गर्ने चलन छ । यस अवधिमा दुर्गा भवानीका प्रतीकका रूपमा नौ दिनसम्म छुट्टाछुट्टै कन्याको पूजा गर्ने परम्परा पनि रहेको छ ।

बडादसैँको सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन दसैँ घर, कोत तथा विभिन्न शक्तिपीठमा विशेष पूजा आराधना गरिन्छ । परम्पराअनुसार बलि दिनेहरूले ती दिनमा बलिसहित पूजा गर्छन् । दसैँका अवसरमा काठमाडौंका नक्साल भगवती, शोभा भगवती तथा नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

यसैबीच, काठमाडौंको हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आजदेखि विधिपूर्वक जमरा राखेर दुर्गा भवानीको पूजा आराधना सुरु गरिँदैछ । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार परम्पराअनुसार चित्रा नक्षत्र र वैधृति योगको पूजा तथा हवन गरी समितिले निर्धारण गरेको साइतमा घटस्थापना गरिन्छ । हनुमानढोकाको दसैँ घरमा गरिने पूजा काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक परम्परासँग जोडिएको छ ।

बडादसैँको मुख्य दिन विजयादशमी आगामी कात्तिक ४ गते बुधबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्यस दिन देवी विसर्जनको साइत बिहान ८ः४९ बजे र टीका तथा प्रसाद ग्रहणका लागि उत्तम साइत बिहान १०ः२६ बजे रहेको छ । विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र फूलप्रसाद ग्रहण गरी आशीर्वाद लिने परम्परा छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र प्रसाद ग्रहण गर्ने धार्मिक चलन रहिआएको छ ।

कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी व्रत बस्ने र राति जाग्राम रहने परम्परा छ । धार्मिक विश्वासअनुसार यस दिन जाग्राम बसी महालक्ष्मीको आराधना गर्नाले धन, ऐश्वर्य र समृद्धि प्राप्त हुन्छ । घटस्थापनाका दिन राखिएको जमरा पनि कोजाग्रत पूर्णिमाका दिन चोखो स्थानमा लगी विसर्जन गर्ने चलन छ ।

बडादसैँ पारिवारिक पुनर्मिलनको पर्वसमेत हो । रोजगारी, अध्ययन तथा अन्य कामका लागि घरबाहिर रहेका मानिस दसैँ मनाउन आफ्नो जन्मथलो फर्किने गर्छन् । परिवारका सदस्य तथा आफन्तसँग भेटघाट गर्ने, मान्यजनबाट आशीर्वाद लिने र आपसी सद्भाव साटासाट गर्ने अवसरका रूपमा पनि यो पर्वलाई लिइन्छ । दसैँ सुरु भएसँगै राजधानी तथा अन्य सहरी क्षेत्रबाट आ–आफ्नो गाउँघर फर्किने यात्रुको चहलपहल बढेको छ । अधिकांश शैक्षिक संस्थाले पनि दसैँ बिदा सुरु गरेकाले घर फर्किने क्रम थप बढेको छ ।