काठमाडौं – प्रधानमन्त्री बालेन शाहले संसद् बैठकमा ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्ति दिएको भनाइ सार्वजनिक भएपछि राष्ट्रिय राजनीतिक वृत्तमा गम्भीर बहस सुरु भएको छ । उक्त अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र प्रतिपक्ष दुवै तर्फबाट आलोचना तथा समर्थनका धारणा आएका छन् ।
प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइलाई कूटनीतिक रूपमा अपरिपक्व र संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्ति भएको भन्दै आलोचना गरेका छन् । सामाजिक सञ्जालमा पनि यस विषयमा पक्ष–विपक्षमा तीव्र बहस भइरहेको छ।
यसै सन्दर्भमा चर्चित अभिनेता राजेश हमालले सामाजिक सञ्जालमार्फत नेपालको सीमा विवादबारे आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीको भनाइप्रति घुमाउरो रूपमा असहमति जनाएका छन् ।
हमालले लेखेका छन्, “आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।”
उनले सीमा विवादलाई दुई प्रकारमा विभाजन गर्दै ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ फरक–फरक विषय भएको उल्लेख गरेका छन्।
उनका अनुसार सीमापार अतिक्रमण प्रायः स्थानीय समस्या, खुला सीमा, नदीको धार परिवर्तन, हराएका सीमा स्तम्भ वा बस्ती विस्तारजस्ता कारणसँग सम्बन्धित हुन्छ । यस्ता समस्याहरू प्रशासनिक र स्थानीय प्रकृतिका हुने भएकाले संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यमार्फत समाधान गर्न सकिने उनले बताएका छन्।
तर ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ भने पूर्ण रूपमा फरक प्रकृतिको विषय हुने भन्दै उनले यस्तो अवस्थामा कुनै देशले विवादित भूभागमा आफ्नो प्रशासन, सुरक्षा संरचना, सडक निर्माण, नक्सा संशोधन तथा राज्यका अधिकार औपचारिक रूपमा लागू गर्ने काम गर्ने उल्लेख गरेका छन्।
हमालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई राज्य–प्रायोजित भू–अतिक्रमणको प्रमुख उदाहरणका रूपमा उल्लेख गरेका छन्।
उनको यो अभिव्यक्तिलाई धेरैले प्रधानमन्त्री बालेन शाहको हालैको भनाइप्रति अप्रत्यक्ष प्रतिक्रिया तथा आलोचनाका रूपमा व्याख्या गरेका छन्।
यसअघि पनि हमालले २१ फागुनको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत नयाँ दल र उम्मेदवारप्रति घुमाउरो टिप्पणी गरेका थिए।



