बूढीगण्डकीमा भीषण बाढीको वितण्डा : ३५ भन्दा बढी घर बगायो, पुलहरू ध्वस्त, सेनाद्वारा ६ जनाको उद्धार

गोरखा – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एकाएक आएको लेदो र गेग्रानसहितको भीषण बाढीले उत्तरी गोरखाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । बाढीले सल्लेरी, बगर, घट्टेखोलालगायतका स्थानमा घर बगाउनुका साथै नदी वारपार गर्न बनाइएका झोलुङ्गे तथा पक्की पुलसमेत बगाएको छ । प्रारम्भिक विवरणअनुसार ३५ भन्दा बढी घर बगाएका छन् भने बाढीको जोखिममा परेका बासिन्दा ज्यान जोगाउन घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।

आइतबार बिहान करिब ४ः३० बजे गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिम क्षेत्रमा पहिरोका कारण थुनिएको बूढीगण्डकी नदी खुलेपछि एकाएक ठूलो बाढी आएको हो । नदीमा लेदो र गेग्रानसहितको पानीको बहाव बढ्दा तटीय क्षेत्रका बस्तीमा क्षति पुगेको हो । बाढी केही समय रोकिने र फेरि एकाएक ठूलो बहाव आउने क्रम जारी रहेकाले स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

स्यार खोलामा पहिरो खसेर पानी थुनिएको र एकाएक खुलेपछि बूढीगण्डकीमा बाढी आएको प्रारम्भिक जानकारी छ । चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङ क्षेत्रमा पहिरो खसेर नदी थुनिएको विवरणसमेत प्राप्त भएको छ । छेकम्पार क्षेत्रमा सुक्खा पहिरो खसेर नदी थुनिएको हुन सक्ने आशंका पनि गरिएको छ । स्यार खोला बूढीगण्डकी नदीमा मिसिने शाखा खोला हो । नदी थुनिएर पुनः खुल्दा एक्कासि पानीको बहाव बढेको बताइएको छ ।

बाढीले चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदी आसपासका बस्तीमा व्यापक क्षति पुर्‍याएको छ । पैयू र बगर गाउँका ३५ भन्दा बढी घर बगाएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिएका छन् । दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा समेत ठूलो क्षति पुगेको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताएकी छन् । उनका अनुसार चुमनुब्री गाउँपालिका–३ का बजार क्षेत्रमा बाढीले बढी क्षति गरेको छ ।

बाढीले घर मात्रै नभई स्थानीय आवागमनका लागि प्रयोग हुँदै आएका पुलसमेत बगाएको छ । आरुघाट र धादिङ जोड्ने बूढीगण्डकी नदीमाथिको मोटरेबल पुल बाढीले बगाएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठले जानकारी दिएका छन् । उक्त पुल बगेसँगै गोरखा र धादिङबीचको यस क्षेत्रको सडक आवागमनमा थप समस्या उत्पन्न भएको छ ।

त्यस्तै, चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल पनि बगाएको छ । धार्चे गाउँपालिका–५ माछाखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल तथा आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको प्रहरीले जनाएको छ । मान्वु र सोती जोड्ने मोटरेबल पुलमा पनि क्षति पुगेको विवरण प्राप्त भएको छ । बाढीले सल्लेरीमा निर्माणाधीन जलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको बताइएको छ ।

चुमनुब्री गाउँपालिका–३ सिर्दिबास निवासी रामबहादुर गुरुङको कच्ची घर बगाएको छ भने अर्को एउटा घरमा बाढी पसेको छ । धार्चे गाउँपालिका–५ माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा सातवटा घर र सातवटा टहरामा क्षति पुगेको प्रहरीले जनाएको छ । धार्चे गाउँपालिका–३ सल्लेरीका २२ घरसमेत जोखिममा परेका छन् । यसबाहेक चुरीमा गएको पहिरोका कारण चुम्चेतका पाँचवटा गोठ सम्पर्कविहीन भएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिएका छन् ।

बाढीको बहाव निरन्तर बढिरहेको र नदी थुनिने तथा खुल्ने क्रम दोहोरिन सक्ने जोखिम रहेकाले स्थानीय बासिन्दा घर छाडेर डाँडातिर उक्लिएका छन् । जगतका स्थानीय गणेश कार्कीले बाढीले घर बगाएको टुलुटुलु हेर्नुबाहेक आफूहरूसँग अर्को विकल्प नभएको बताएका छन् । उनका अनुसार बूढीगण्डकीमा केही समय पानीको बहाव कम हुने र फेरि एकाएक ठूलो बाढी आउने क्रम चलिरहेको छ । आफूले जन्मेदेखि अहिलेसम्म यस्तो बाढी नदेखेको उनले बताएका छन् ।

सिर्दिबासकी स्थानीय कुमारी गुरुङका अनुसार बाढी अझै रोकिएको छैन र स्थानीय बासिन्दा त्रसित अवस्थामा छन् । नदी किनारका जगत, सल्लेरी, सिर्दिबास, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान माइकिङ तथा फोनमार्फत आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जोखिममा रहेका बस्तीका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न भनिएको जानकारी दिएका छन् ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय प्रशासन परिचालित भएका छन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढी आएको जानकारी प्राप्त भएपछि हवाई तथा स्थलमार्गबाट उद्धार टोली परिचालन गरिएको छ । सेनाको टोलीले प्रभावित क्षेत्रको अवस्था आकलन गर्नुका साथै पहिरोको जोखिममा रहेको जगत गाउँबाट छ जनाको हवाई उद्धार गरेको छ ।

काठमाडौँमा रहेको सेनाको ‘कम्पोजिट क्विक रेस्पोन्स टिम’ समेत हवाईमार्गबाट प्रभावित क्षेत्रमा परिचालन भएको छ । टोलीले नदी तटीय तथा आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको सेनाले जनाएको छ । प्रभावित क्षेत्रमा सम्भावित थप जोखिमको आकलन गर्दै उद्धार तथा सुरक्षित स्थानान्तरणको काम अघि बढाइएको छ ।

बाढीको घटनाप्रति गृहमन्त्री सुधन गुरुङले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सिर्दिबास, जगत, सल्लेरी, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन अनुरोध गरेका हुन् ।

गृहमन्त्री गुरुङले आफ्नै निर्वाचन क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिका–३ अन्तर्गत न्याकचेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रमा लेदोसहितको पानी घरमा पसेको विवरणप्रति ध्यानाकर्षण भएको बताएका छन् । उनले स्थानीय बासिन्दालाई धैर्य राख्न, सुरक्षित रहन र आपत्कालीन सहायताका लागि गृह मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिएका छन् । हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्रशासनले जनाएको छ । यद्यपि घर, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा पुगेको क्षतिको यकिन विवरण संकलन हुन बाँकी छ । बाढीको बहाव र पहिरोको जोखिम कायमै रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।