कञ्चनपुर – नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नेपाली स्वदेश फर्किन थालेका छन् । चाडपर्व परिवारसँग मनाउने चाहनासहित नेपालीहरू घर फर्किन थालेपछि कञ्चनपुरको गड्डाचौकी नाकामा चहलपहल बढेको छ ।
भारतको उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली, पञ्जाबलगायत स्थानमा मजदुरी, खेतीपाती तथा अन्य काम गर्दै आएका नेपाली दसैँ मनाउन स्वदेश फर्किने क्रम बढेको हो । रोजगारीका लागि भारत जाने र चाडपर्वका बेला घर फर्किने नेपालीको पुरानै परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ ।
भारतको देहरादुनमा सडक निर्माणसम्बन्धी काम गर्दै आएका अछामको ढकारीका खगेन्द्र बुढा पाँच जना साथीसहित गड्डाचौकी नाका हुँदै घर फर्किँदै थिए । दसैँ मनाउन घर फर्किएका उनले चाडपर्व सकिएपछि पुनः रोजगारीका लागि भारत जानुपर्ने बताए ।
“देहरादुनमा हामीहरू सडकमा काम गर्छौं । दसैँ मनाउन घर फर्किएका हौँ”, उनले भने, “दसैँतिहार मनाएर फेरि रोजगारीका लागि उतै जानुपर्छ ।” नेपालमा पर्याप्त रोजगारीको अवसर नहुँदा धेरै नेपाली मजदुरीका लागि भारतका विभिन्न सहरमा जान बाध्य भएको उनको भनाइ छ ।
कालीकोटका निगेन्द्र शाही पनि हिमाचल प्रदेशबाट दसैँ मनाउन घर फर्किएका छन् । हिमाचलमा खेतीपातीको काम गरेर परिवारको खर्च जुटाउँदै आएका उनले चाडपर्वपछि पुनः भारत फर्किने बताए । “हिमाचलमा खेतीपातीको काम गर्छौँ, त्यसको कमाइले घरखर्च चलेको छ”, उनले भने, “दसैँ मनाउन आउँछौँ, तिहारपछि फर्किने हो ।”
शाहीका अनुसार उनीसँगै रोजगारीका लागि भारत गएका अन्य नेपाली पनि दसैँका बेला परिवारसँग भेटघाट गर्न स्वदेश फर्किने गरेका छन् । चाडपर्व मनाइसकेपछि उनीहरू पुनः रोजगारीका लागि भारतका विभिन्न स्थानमा जाने गर्छन् ।
त्यस्तै, कैलालीको मसुरियाका मीनबहादुर कठायत भारतको दिल्लीमा सुरक्षा गार्डका रूपमा कार्यरत छन् । गत वर्षको चाडपर्व मनाएर रोजगारीका लागि दिल्ली गएका उनी पनि दसैँ सुरु भएसँगै घर फर्किएका छन् । उनले हरेक वर्ष गड्डाचौकी नाका हुँदै घर आउने गरेको बताए ।
“सधैँ दसैँमा यही नाका भएर घर फर्किन्छौँ, आवतजावतमा समस्या छैन”, उनले भने, “चाडपर्वपछि काममा फर्किन्छु ।”
रोजगारीका लागि भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किने क्रम बढेसँगै यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राखेर प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गड्डाचौकी नाकासहित जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने नेपालीको चाप बढिरहेको जानकारी दिए । चाडपर्वका बेला यात्रुले भोग्न सक्ने समस्या समाधान गर्नुका साथै सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न नाकामा निगरानी बढाइएको उनले बताए ।
“गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्क गरी जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ”, रावतले भने, “नाका र बसपार्कमा तालिमप्राप्त कुकुर परिचालन गरेर पनि सुरक्षा जाँच भइरहेको छ ।” चाडपर्वको समयमा हुन सक्ने चोरी, ठगी तथा अन्य आपराधिक गतिविधि न्यूनीकरण गर्न प्रहरी परिचालन र निगरानी बढाइएको उनले जानकारी दिए ।
भारतबाट फर्किने यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै गड्डाचौकी नाकामा स्वास्थ्य जाँचको व्यवस्था पनि मिलाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भारतबाट स्वदेश फर्किने यात्रुमा विभिन्न रोगको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै नाकामै स्वास्थ्य परीक्षण भइरहेको छ । यात्रुको डेङ्गु, मलेरिया, एचआइभीलगायत छ प्रकारका रोगको जाँच गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
दसैँसँगै तिहार मनाउन घर फर्किने नेपालीको आवागमन आगामी दिनमा थप बढ्ने अपेक्षा गरिएको छ । रोजगारीका लागि वर्षभरि परिवारबाट टाढा बस्ने नेपालीका लागि दसैँ आफन्तसँग भेटघाट गर्ने र सुखदुःख साटासाट गर्ने अवसर बनेको छ । तर, स्वदेशमा पर्याप्त रोजगारीको अवसर नहुँदा चाडपर्व मनाएर पुनः भारत फर्किनुपर्ने बाध्यता भने उनीहरूको साझा समस्या बनेको छ ।



