तीन वर्षभित्र निर्माण सक्नुपर्ने मादीसेती मोटरेबल पुल पाँचवर्षसम्म पिन अपूरै, स्थानीय सास्तीमा

तनहुँ – व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने मादीसेती नदीमाथिको मोटरेबल पुल पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । गण्डकी प्रदेशको महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको यो पुल समयमै नबन्दा स्थानीयवासीले दैनिक आवतजावतमा सास्ती भोग्नुपरेको छ भने आयोजनाको लागतसमेत बढ्दै गएको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्रप्रताप तिवारीका अनुसार निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिँदै आएको छ । उनले पुलका स्टिल पाट्र्सको फेब्रिकेसन सकिएको र दुईवटा स्पानमध्ये एउटा यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिए । “बाँकी कामका लागि आवश्यक सामग्री भारतबाट आइसकेको छ । २०८२ साल चैत मसान्तसम्ममा काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिइसकिएको छ,” उनले भने ।

गण्डकी प्रदेश सरकारले रु ३२ करोड ४० लाख २७ हजार १९४ को लागतमा पुल निर्माण गर्नेगरी २०७७ साल मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौँसँग सम्झौता गरेको थियो । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल चैत २३ गते शिलान्यास गरिए पनि ठेकेदारको ढिलासुस्ती र विभिन्न कारण देखाउँदै हालसम्म तीनपटक म्याद थप भइसकेको छ । हाल पुलको भौतिक प्रगति ६५ प्रतिशत मात्र पुगेको छ ।

१५५ मिटर लामो र स्टिल ट्रस प्रविधिमा निर्माण भइरहेको यो पुल ९.५ मिटर चौडा हुनेछ । पाइल फाउन्डेसनमा आधारित पुल व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार हुँदै जिल्लाको ग्रामीण दक्षिण भेगलाई जोड्ने मुख्य मार्ग हो ।

पछिल्लो समय कार्यालयले दबाब बढाएपछि निर्माणस्थलमा केही गतिविधि देखिए पनि पटक–पटक म्याद थपिने तर काम अपेक्षित रूपमा नहुने प्रवृत्तिले तोकिएको नयाँ समयसीमाभित्र पुल सञ्चालनमा आउनेमा स्थानीयवासी अझै आशंकित छन् ।