प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसदमा प्रतिपक्षी दलहरूले सुरुवातदेखि नै बेल घेराउ गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर आज प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले कडा प्रतिवाद गर्ने भएका छन् ।

प्रतिपक्षी दलहरूबीच हिजो नै यस विषयमा सामान्य समझदारी भएको जनाइएको छ । आजको बैठकलाई केन्द्रित गर्दै विपक्षी दलहरूले सामूहिक रूपमा विरोध जनाउने तयारी गरेका छन् ।

हिजोको बैठकमा प्रधानमन्त्री अचानक उपस्थित भएर सांसदहरूलाई प्रश्न सोध्न आग्रह गरेका थिए । सोही क्रममा उनले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएको भन्दै राजनीतिक वृत्तमा व्यापक विवाद उत्पन्न भएको छ।

केही प्रतिपक्षी सांसदहरूले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । तर सभामुख डीपी अर्यालले त्यसमा कुनै निर्णय नगरेको आरोप पनि लगाइएको छ।

त्यसैगरी सभामुखले संसद नियमावली अघि बढाउन खोज्दा हिजोको बैठक दिनभर तनावपूर्ण बनेको बताइएको छ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रतिपक्षी दलहरू सुरुबाटै आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छन् । एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार आजको बैठकको सुरुवातदेखि नै ‘बेल घेराउ’ गर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन माग गरिनेछ।

उनले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति माफी नमागेसम्म र रेकर्डबाट हटाउने प्रक्रिया अघि नबढेसम्म संसद सञ्चालन हुन नदिने चेतावनीसमेत दिएका छन्।

आजको बैठकलाई केन्द्रित गर्दै राजनीतिक वातावरण थप तनावपूर्ण बन्न सक्ने अनुमान गरिएको छ।