आवा २०८३/८४ का लागि तुलसीपुर उपमहानगरको बजेट २ अर्ब ४४ करोड

दाङ – तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु दुई अर्ब ४४ करोड ९५ लाख ९१ हजार बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको १९औँ नगरसभाको अधिवेशनमा नगर उपप्रमुख श्यानी चौधरीले ‘हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर, खुसी जनता, समृद्ध तुलसीपुर’ भन्ने मूल नारासहित उक्त बजेट प्रस्तुत गरेकिहुन् ।

आगामी आवको कुल बजेटमध्ये चालु खर्चतर्फ रु एक अर्ब ३९ करोड ६० लाख २१ हजार (५७ प्रतिशत), पुँजीगत खर्चतर्फ रु एक अर्ब एक करोड ३८ लाख २८ हजार (४१ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ रु चार करोड (१.६५ प्रतिशत) विनियोजन गरिएको छ ।

बजेटको स्रोततर्फ आन्तरिक आयबाट रु ५४ करोड, सङ्घीय सरकारको समानीकरण अनुदानबाट रु २८ करोड ७७ लाख, सङ्घीय सशर्त अनुदानबाट रु ६७ करोड २३ लाख तथा गत वर्षको बैंक मौज्दातबाट रु ३० करोड प्राप्त हुने अनुमान गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

आगामी बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखिएको छ । नगरका १९ वटै वडाका लागि रु एक–एक करोडका दरले कुल रु १९ करोड वडास्तरीय योजनामा विनियोजन गरिएको छ। त्यस्तै शिक्षा पूर्वाधारका लागि रु तीन करोड, स्वास्थ्य पूर्वाधारका लागि रु एक करोड र खानेपानी तथा सरसफाइका लागि रु एक करोड छुट्याइएको छ ।

उपमहानगरपालिकाले ‘स्मार्ट छोरी’ कार्यक्रमका लागि रु ५० लाख विनियोजन गरेको छ । साथै मुख्य बजार क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न आकाशे पुल निर्माणका लागि रु ५० लाख, कृषि एम्बुलेन्स सञ्चालनका लागि रु ६० लाख र सामुदायिक विद्यालयमा प्रविधिमैत्री कक्षा सञ्चालन तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमका लागि रु ८५ लाख विनियोजन गरिएको छ ।

स्वास्थ्य क्षेत्रअन्तर्गत गर्भवती जाँच गराउन आउने सेवाग्राहीलाई प्रत्येक पटक एक क्यारेट अण्डा वितरण गर्ने कार्यक्रमसमेत समावेश गरिएको छ । यसका लागि समेत बजेट छुट्याइएको उपमहानगरले जनाएको छ ।

आर्थिक विकासतर्फ कृषि क्षेत्रमा रु तीन करोड र पशु सेवा विकासतर्फ रु दुई करोड विनियोजन गरिएको छ । बजार क्षेत्रको फोहर व्यवस्थापनका लागि आधुनिक कम्प्याक्टर खरिद र आगलागी नियन्त्रणका लागि दमकल खरिद गर्न रु एक–एक करोड विनियोजन गरिएको छ। बजेटले स्थानीय पूर्वाधार, सामाजिक सेवा र आर्थिक विकासलाई सन्तुलित रूपमा अघि बढाउने लक्ष्य राखेको छ ।