ग्यासको विकल्पमा विद्युतीय चुल्हो प्रवर्द्धन गर्दै पोखरा महानगर

काठमाडाैं – पोखरा महानगरपालिकाले खाना पकाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यले विद्युतीय चुल्हो प्रवर्द्धन अभियान सुरु गरेको छ। बजारमा खाना पकाउने एलपिजी ग्यासको अभाव बढ्दै गएपछि महानगरले विद्युतीय चुल्होलाई वैकल्पिक ऊर्जाका रूपमा अघि सारेको हो।

अभियानअन्तर्गत पोखरा–२२ पुम्दीभुम्दीका दुई सय परिवारलाई सोमबार विद्युतीय चुल्हो वितरण गरिएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा चुल्हो वितरण गरिएको हो। चार हजार दुई सय रुपैयाँ मूल्य पर्ने चुल्हो पहिलो चरणमा वडा नं २२ का कालाबाङ, भुम्दीलगायत पाँचवटा टोलका परिवारलाई उपलब्ध गराइएको वडाध्यक्ष हिमलाल बरालले जानकारी दिए ।

उहाँका अनुसार वडाभित्र करिब दुई हजारभन्दा बढी विद्युतीय चुल्हो वितरण गर्ने लक्ष्य राखिएको छ।

अभियानको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ग्यासको अभावका कारण खाना पकाउन समस्या भइरहेको अवस्थामा विद्युतीय चुल्हो उपयोगी विकल्प बन्न सक्ने बताए ।

खाना पकाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन सके एलपिजी ग्यासमाथिको परनिर्भरता घटाउनुका साथै स्वदेशमा उत्पादन भएको विद्युत्को खपत बढाउन सकिने उनकाे भनाइ छ।

“खाना पकाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन सके एलपिजी ग्यासमाथिको परनिर्भरता घटाउन सकिन्छ। यसबाट स्वदेशमै उत्पादन भएको विद्युत्को खपत वृद्धि हुन्छ भने उपभोक्तालाई पनि सस्तो पर्छ,” प्रमुख आचार्यले भने ।

२०२९ सम्म २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्हो

पोखरा महानगरपालिकाको नगर ऊर्जा योजनाअनुसार महानगर क्षेत्रमा खाना पकाउन प्रयोग हुने इन्धनमध्ये एलपिजी ग्यासको हिस्सा सबैभन्दा धेरै ८४ दशमलव २५ प्रतिशत रहेको छ। त्यस्तै, काठदाउराको हिस्सा १० दशमलव २० प्रतिशत, बायोग्यासको पाँच दशमलव २५ प्रतिशत र विद्युत्को हिस्सा शून्य दशमलव २३ प्रतिशत मात्रै रहेको छ।

महानगरपालिकाको पञ्चवर्षीय नगर ऊर्जा योजनाले सन् २०२९ सम्म महानगरभित्रका २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्होको पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

ग्यासको बढ्दो अभाव र आयातमा रहेको निर्भरता घटाउँदै स्वदेशमा उत्पादित विद्युत्को आन्तरिक खपत बढाउने उद्देश्यले महानगरले विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न थालेको हो।