अध्ययन र व्यवसाय मिलेपछि फस्टाउँदै स्ट्रबेरीखेती, एक वर्षमा रु २१ लाख आम्दानी

घोराही – अध्ययनको क्षेत्र कृषि प्राविधिक र व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) मिल्दा दाङ र कैलालीका युवा किसानको व्यावसायिक खेती फस्टाउँदै गएको छ । कृषि प्रविधिमा अध्ययन गरेका कैलालीका किसान दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा सुरु गरेको स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।

चार वर्षअघि स्ट्रबेरीखेतीमा होमिनुभएका २७ वर्षीय साउदले गत वर्ष मात्रै करिब २१ लाख रुपैयाँ बराबरको स्ट्रबेरी कारोबार भएको जानकारी दिए । उनका अनुसार गत वर्ष आधाभन्दा बढी रकम बचत भयो भने यस वर्ष पनि दैनिक ७० किलोभन्दा बढी स्ट्रबेरी बिक्री भइरहेको छ । यस वर्ष क्षेत्रफल विस्तार भएकाले कारोबार अझै बढ्ने अपेक्षा गरिएको उनले बताए ।

साउदले दुई बिघा जग्गा भाडामा लिएर स्ट्रबेरीखेती गर्दै आएका छन् । “कृषि प्रविधिसम्बन्धी विषय अध्ययन गरेपछि यही क्षेत्रमा केही गरौँ भन्ने सोच आयो,” उनले भने, “अहिले यही व्यवसायबाट राम्रो आम्दानी भइरहेको छ ।” हाल स्ट्रबेरी प्रतिकिलो ७ सय रुपैयाँका दरले बिक्री भइरहेको उनले बताए ।

परम्परागत कृषिमा प्रविधिको प्रयोगले सफलता मिलेको उल्लेख गर्दै साउदले घोराहीसँगै कपिलवस्तुमा १० कट्ठा र कैलालीमा दुई बिघा क्षेत्रफलमा समेत व्यावसायिक स्ट्रबेरीखेती गर्दै आएका छन् । घोराहीस्थित फार्ममा कपिलवस्तुका भाष्कर पङ्गेनीले पनि साथ दिएका छन् ।

यसैगरी, घोराही उपमहानगरपालिकाकै अर्का युवा किसान वीरेन्द्र खड्काले पनि व्यावसायिक रूपमा स्ट्रबेरीखेती गर्दै आएका छन् । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही–१४ झिँगौरामा स्वर्गद्वारी आश्रमको जग्गा भाडामा लिएर स्ट्रबेरीखेती सुरु गरेका हुन् ।

२८ वर्षीय खड्काले कृषिसम्बन्धी अध्ययन गरी आफ्नै देशमा केही गर्ने उद्देश्यले आठ वर्षअघि कृषि फार्म स्थापना गरी पुष्प व्यवसाय सुरु गरेका थिए । पछिल्ला दुई–तीन वर्षदेखि भने उहाँ व्यावसायिक रूपमा स्ट्रबेरीखेतीमा लागेका छन् । “सुरुमा बिरुवा, थोपा सिँचाइ र मल्चिङ गर्दा करिब आठ लाख रुपैयाँ खर्च भयो,” उनले भने,“भदौको अन्त्यतिर रोपेका बिरुवाले अहिले राम्रो उत्पादन दिइरहेका छन् ।”

खड्काले दाङ एग्रोमार्ट कृषि फार्ममार्फत चाडपर्वमा सयपत्री फूल र गर्मी मौसममा खरबुजाको पनि व्यावसायिक खेती गर्दै आएका छन् । स्वादिलो र पौष्टिक फल भएकाले स्ट्रबेरीको बजारमा राम्रो माग रहेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले स्ट्रबेरी उत्पादनपछि दैनिक बिक्री गर्न सकियो भने किसानलाई बढी फाइदा हुने बताए । जिल्लाको बजार सानो भएकाले प्याकिङ र ढुवानीमा विशेष सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । “धेरै दिनसम्म प्याकिङमा राख्दा स्ट्रबेरी बिग्रने सम्भावना हुन्छ,” उनले भने, ।

दाङको हावा, पानी र माटो स्ट्रबेरीखेतीका लागि उपयुक्त रहेको उल्लेख गर्दै लामिछानेले स्ट्रबेरी चिसो ठाउँमा राम्रो हुने फलफूलमध्ये एक भएको बताए । जिल्लामा हाल व्यावसायिक रूपमा कम खेती भए पनि घरायसी रूपमा गमलामा लगाउने क्रम बढ्दै गएको उनको भनाइ छ ।

युवा किसानको सक्रियता, अध्ययनसँग जोडिएको कृषि व्यवसाय र प्रविधिको प्रयोगले दाङ र कैलाली क्षेत्रमा स्ट्रबेरीखेतीलाई सम्भावनायुक्त व्यवसायका रूपमा स्थापित गर्न थालेको देखिन्छ ।