बाँके — बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्ने राप्ती नदीमा पुल निर्माण नहुँदा तटीय क्षेत्रका हजारौँ नागरिक अझै पनि डुङ्गामार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।
नरैनापुर गाउँपालिका–६ गङ्गापुरका स्थानीय अगुवा सोहनलाल यादवका अनुसार डुडुवा गाउँपालिकाको होलिया र नरैनापुरको गङ्गापुर जोड्ने स्थानमा पुल नहुँदा राप्तीपारिका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दाले दैनिक रूपमा नदी वारपार गर्न डुङ्गाको भर पर्नुपरेको छ। स्थानीयवासी खेतबारीको काम, आफन्त भेटघाट तथा हाटबजारका लागि नियमित रूपमा डुङ्गा प्रयोग गर्दै आएका छन्।
राप्तीसोनारी गाउँपालिका–७ को खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायत गाउँका बासिन्दाले पनि वर्षौंदेखि डुङ्गामार्फत आवतजावत गर्दै आएका छन्। राप्तीसोनारी–७ खल्ला झगडिया नयाँबस्तीका शङ्कर यादवले नजिकै पक्की पुल नहुँदा सिधनियाघाटसम्म पुग्नुपर्ने बाध्यता रहेकाले डुङ्गा प्रयोग गर्नुपरेको बताए ।
उनका अनुसार नदी तटीय क्षेत्रका धेरै नागरिकको खेतीयोग्य जमिन नदी वारि र पारि दुवैतर्फ रहेकाले कृषि कार्यका लागि पनि डुङ्गाबाट नदी पार गर्नुपर्ने अवस्था छ। “पक्की पुलसम्म पुग्न धेरै टाढा जानुपर्छ, झोलुङ्गे पुल पनि छैन। त्यसैले हिउँद होस् वा वर्षात्, डुङ्गा चढ्नुको विकल्प छैन,” उनले भने ।
डुडुवा गाउँपालिका–१ होलियाका स्थानीय अगुवा झगरु लोनियाले कुडुवा, कृषि चौफेरी, बोर्डर चौफेरी, छिटइपूर्वा, टेपरी, पिप्रहवा, खडैचा, कन्दइपूर्वा, सन्तलिया र नयाँबस्तीका सयौँ बासिन्दाका लागि डुङ्गा नै मुख्य यातायातको माध्यम बनेको बताए । उनका अनुसार हिउँदमा नदीमा पानी कम हुँदा यात्रा अपेक्षाकृत सहज भए पनि बर्खायाममा बाढीका कारण डुङ्गा यात्रा निकै जोखिमपूर्ण हुने गरेको छ।
खल्ला झगडिया नजिकै नदी पार गराउन सधैँ डुङ्गा तयारी अवस्थामा राखिएको हुन्छ। डुङ्गाचालक नानबाबु पासीका अनुसार प्रतिव्यक्ति १० रुपैयाँ, गाईभैँसीका लागि २० रुपैयाँ, साइकलका लागि १५ रुपैयाँ र मोटरसाइकलका लागि ६० रुपैयाँ शुल्क लिने गरिएको छ। एकपटकमा ५० देखि ६० जनासम्म यात्रु तथा मालसामान नदी पार गराउन सकिने उनले जानकारी दिए ।
हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा किनमेलका लागि नेपाली गाउँका सयौँ नागरिक डुङ्गा चढेर जाने गर्छन्। डुडुवा गाउँपालिकाको होलिया, बेतहनी, राप्तीसोनारीको फत्तेपुर तथा नरैनापुरको गङ्गापुर र मटेहियालगायत क्षेत्रका बासिन्दा नियमित रूपमा उक्त बजारमा पुग्ने गरेका छन्। भारतीय बजारमा तरकारी तथा अन्य उपभोग्य सामग्री तुलनात्मक रूपमा सस्तो पाइने भएकाले स्थानीयको आकर्षण बढेको डुङ्गाचालक पासीले बताए ।
स्थानीयवासीले राप्ती नदीको डुबान, कटान तथा जोखिमपूर्ण यात्रा समस्याको दीर्घकालीन समाधानका लागि मटेहिया र होलियालाई जोड्ने पक्की पुल निर्माणको माग गर्दै आएका छन्। बाँके क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले उक्त पुल निर्माण योजनालाई कार्यान्वयनमा लैजान पहल भइरहेको बताएका छन् ।



