सम्झौता भएको १० वर्षमा पनि बनेन मनाङको मोटरेबल पुल

मनाङ – हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको एक दशक बितिसक्दा पनि एउटा मोटरेबल पुल निर्माण हुन सकेको छैन। मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल र वडा नं. ४ हुम्डे जोड्ने मर्स्याङ्दी नदीमाथिको पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासीले जोखिम मोलेर आवतजावत गर्नुपरेको छ।

पूर्वाधार कार्यालयका अनुसार पुल निर्माणका लागि ठेकेदार कम्पनीले सम्झौता रकमको करिब ७० प्रतिशत भुक्तानी लिइसकेको छ। तर निर्माणको काम भने निकै सुस्त रहेको कार्यालयको भनाइ छ।

पूर्वाधार कार्यालयका प्रमुख हरि थापाले निर्माण कम्पनीलाई आवश्यक रकम भुक्तानी गरिए पनि अपेक्षाअनुसार काम हुन नसकेको बताए । उनका अनुसार पटक–पटक म्याद थपिए पनि पुल निर्माण अझै सम्पन्न भएको छैन।

“भुक्तानी भइसकेको छ, तर पुलको बिम उठाउनेबाहेक अरू काम भएको देखिँदैन,” उनले भने ।

कार्यालयका अनुसार पुल निर्माणका लागि विसं २०७३ असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित करिब चार करोड रुपैयाँमा सम्झौता भएको थियो। तर सम्झौताको लक्ष्य मिति सकिएको लामो समय बितिसक्दा पनि पुल सञ्चालनमा आउन सकेको छैन।

मनाङ ङिस्याङ गाउँपालिका–३ र ४ जोड्ने हुम्डेस्थित उक्त पुल मर्स्याङ्दी नदी पार गरी माथिल्लो मनाङ पुग्ने मुख्य सडकमा पर्छ। पुल निर्माण नहुँदा स्थानीयवासीको दैनिक आवतजावतदेखि पर्यटकको आवागमनसमेत प्रभावित हुँदै आएको छ।

पुल नबन्दा गाउँपालिका पुग्नै समस्या

मनाङ ङिस्याङ गाउँपालिका–३ का वडाध्यक्ष कृष्णबहादुर लामाले ठेकेदार कम्पनीसँगै सम्बन्धित कार्यालयले समेत पुल निर्माणमा पर्याप्त चासो नदिएको आरोप लगाए ।

स्थानीयवासीका अनुसार पुल निर्माण भएको भए वडा क्षेत्रबाट गाउँपालिका कार्यालयसम्मको यात्रा केही मिनेटमै पूरा गर्न सकिने भए पनि अहिले घुमाउरो बाटो प्रयोग गर्नुपर्दा लामो समय लाग्ने गरेको छ।

स्थानीय मुखिया लामाले भन्नुभयो, “पुल बनेपछि चार–पाँच मिनेटमै गाउँपालिका पुग्न सकिन्छ। अहिले पुल नहुँदा घरबाट गाउँपालिका पुग्न धेरै समय खर्चिनुपरेको छ।”

स्थानीयवासीले लामो समयसम्म काम नगर्ने ठेकेदार कम्पनीसँगको सम्झौता तोडेर नयाँ कम्पनीमार्फत पुल निर्माण अघि बढाउन माग गरेका छन्। पुल निर्माणमा भइरहेको ढिलाइले सडक तथा अन्य विकास निर्माणका कामसमेत प्रभावित भएको उनीहरूको भनाइ छ।

सांसदको निर्देशनपछि काम अघि बढाउने दबाब

जिल्ला अनुगमनका क्रममा मनाङका सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङले निर्माण कम्पनीलाई तत्काल काम अघि बढाउन निर्देशन दिएका छन् ।

उनले पुल निर्माण सम्पन्न भएपछि मात्रै कामको मूल्याङ्कन गरी भुक्तानी दिन सम्बन्धित पूर्वाधार कार्यालयलाई निर्देशन दिए ।

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले पटक–पटक निर्माण कम्पनीसँग सम्पर्क गरी काम पूरा गर्न आग्रह गरे पनि ठेकेदारले चासो नदिएको बताए ।

उनका अनुसार काम नगरेको निर्माण कम्पनीलाई पटक–पटक म्याद थपेर निर्माण पूरा गर्ने अवसर दिइए पनि अपेक्षित प्रगति हुन सकेको छैन।

पर्यटकीय क्षेत्रको पूर्वाधारमा प्रश्न

पूर्वसांसद पाल्देन छोम्पाङ गुरुङले पर्यटकीय क्षेत्र मनाङमा आवश्यक पूर्वाधार समयमै निर्माण हुन नसक्दा स्थानीयवासीसँगै पर्यटकले समेत सास्ती भोग्नुपरेको बताए ।

उनले पुललगायतका पूर्वाधार समयमै निर्माण भए स्थानीयवासीको दैनिक आवतजावत सहज हुनुका साथै मनाङ आउने पर्यटकलाई समेत सुविधा पुग्ने बताए ।

मर्स्याङ्दी नदीमाथिको उक्त पुल निर्माण सम्पन्न नहुँदा एकातर्फ राज्यको ठूलो लगानी लामो समयदेखि अलपत्रजस्तै बनेको छ भने अर्कोतर्फ स्थानीयवासीलाई दैनिक आवतजावतमा समस्या भइरहेको छ। अब भने वर्षौँदेखि रोकिएको निर्माण कार्यलाई टुंगोमा पुर्‍याउन सम्बन्धित निकाय र निर्माण कम्पनीमाथि थप दबाब बढेको छ।