काठमाडौं – नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई थप तीन दिन निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराउने भएको छ।
कम्पनीले यसअघि दुई दिनका लागि निःशुल्क सेवा उपलब्ध गराउने निर्णय गरेकोमा अब भदौ १२, १३ र १४ गतेसम्म उक्त सुविधा निरन्तरता दिने भएको हो।
नेपाल टेलिकमका अनुसार प्रभावित क्षेत्रका सेवाग्राहीले निःशुल्क भ्वाइस कलका साथै प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस सुविधा प्राप्त गर्नेछन्।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई आफन्त, उद्धार तथा राहतकर्मी र सम्बन्धित निकायसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न स्थानमा दूरसञ्चार पूर्वाधारमा समेत क्षति पुगेको छ। भौतिक संरचनामा क्षति भए पनि दूरसञ्चार सेवा नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत गर्न नेपाल टेलिकमका प्राविधिक टोली निरन्तर परिचालित रहेको कम्पनीले जनाएको छ।
टेलिकमले प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुन नदिन उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै सेवा पुनःस्थापना तथा मर्मत कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।


