काठमाडौं – राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग अवरुद्ध भएपछि अत्यावश्यक सामग्री तथा पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुने आशंका बढिरहेका बेला नेपाल आयल निगमले काठमाडौंमा इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीर नजिकै त्रिशूली नदीले सडक कटान गरी भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि अत्यावश्यक सामग्रीको अभाव हुन सक्ने आशंकाबीच निगमले वैकल्पिक मार्गबाट इन्धन आपूर्ति गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार सडक अवरुद्ध भएलगत्तै मकवानपुरको हेटौँडा हुँदै पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यास काठमाडौं ल्याउने तयारी गरिएको छ ।
“मकवानपुरको बाटो हुँदै इन्धन र ग्यास ढुवानी गर्दैछौँ,” कार्यकारी निर्देशक साहले भन्नुभयो, “ग्यासका धेरैजसो प्लान्ट तराईमै छन् । त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटोबाटै काठमाडौं ल्याउँछौँ ।”
उहाँका अनुसार इन्धन आपूर्तिको मुख्य ‘ब्याकअप’ अमलेखगञ्ज डिपो हो । पाइपलाइनमार्फत सिधै तेल आउने भएकाले अमलेखगञ्जबाट काठमाडौंमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिने उनले बताए ।
“पाइपलाइनबाट हामीले चाहेको जति तेल आइहाल्छ । त्यहाँबाट निजी ढुवानीकर्ता तथा डिलरका २० केएल र १२ केएल क्षमताका साना ट्यांकर प्रयोग गरी ल्याउँछौँ,” उनले भने “सडकका कारण आपूर्ति शृङ्खलामा एक–दुई घण्टा तलमाथि होला, तर आपूर्तिमा कुनै समस्या हुँदैन ।”
निगमका अनुसार केही दिनअघिको अविरल वर्षाका कारण रोकिएका अधिकांश इन्धन बोकेका ट्यांकर शनिबार नै काठमाडौं भित्रिसकेका छन् । त्यसैले तत्काल बजारमा पेट्रोलियम पदार्थको अभाव नहुने निगमले जनाएको छ ।
सडक बन्द भएको खबरपछि बजारमा इन्धन नपाइने हो कि भन्ने त्रास फैलिन सक्ने भन्दै निगमले उपभोक्तालाई अनावश्यक चिन्ता नगर्न आग्रह गरेको छ ।
“आपूर्ति सहज रूपमा भइरहेको छ र हामीले वैकल्पिक व्यवस्था गरिसकेका छौँ,” कार्यकारी निर्देशक साहले भने, “सबैलाई आश्वस्त हुन आग्रह छ ।”
यसैबीच, अवरुद्ध मुग्लिन–काठमाडौं सडकखण्ड खुलाउने विषयमा सरकारले आवश्यक अध्ययन तथा पहल गरिरहेको जनाएको छ ।



