श्रीकृष्ण जन्माष्टमीमा देशभरका कृष्णमन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ – श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । वैदिक सनातन धर्मावलम्बीले आज भगवान् श्रीकृष्णको पूजाआराधना, व्रत, भजनकीर्तन तथा जाग्राम बसेर पर्व मनाइरहेका छन् ।

काठमाडौँ उपत्यकाका प्रमुख कृष्णमन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको छ । पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित नवतनधाम, बूढानीलकण्ठस्थित अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कृष्णमन्दिर, पशुपति क्षेत्रका कृष्णमन्दिर तथा वसन्तपुर दरबार क्षेत्रस्थित कृष्णमन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति छ ।

उपत्यकाका चोक, गल्ली तथा विभिन्न स्थानमा रहेका कृष्ण, नारायण र लक्ष्मीनारायण मन्दिरमा पनि भक्तजन पूजाआराधनाका लागि पुगेका छन् । यस अवसरमा विभिन्न धार्मिक सङ्घसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा आयोजना गर्ने गरेका छन् ।

ललितपुरको पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरमा पूजा आराधना तथा दर्शन गर्न आज बिहानैदेखि लामबद्ध भएका भक्तजन ।

धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको हो । त्यसैले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भनिन्छ । भक्तजनले दिनभर व्रत बसेर मध्यरातमा श्रीकृष्णको जन्मोत्सव मनाउने तथा रातभर जाग्राम बस्ने परम्परा छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिको अन्त्य गरी सत्य तथा सत्कर्मको मार्ग देखाउन भगवान् श्रीकृष्णले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको धार्मिक ग्रन्थमा उल्लेख छ । कुरुक्षेत्रमा अर्जुनलाई दिनुभएको उपदेश ‘श्रीमद्भगवद्गीता’ हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक ग्रन्थका रूपमा मानिन्छ ।

पौराणिक कथाअनुसार श्रीकृष्णले बाल्यकालदेखि नै विभिन्न लीला देखाउनुभएको थियो । उहाँले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

श्रीकृष्णको जन्म भाद्रकृष्ण अष्टमीको मध्यरातमा हुने भएकाले त्यसको भोलिपल्ट अर्थात् नवमीका दिन खुसीयालीस्वरूप रथयात्रा निकाल्ने परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले बताएका छन् ।