काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी यादवले नेपालमा रहेका ५८ वटा ग्यास उद्योग आवश्यक नरहेको भन्दै ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई कडाइ गर्नुपर्ने बताएकी छन्।
बुधबार उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले ग्यास उद्योगको संख्या घटाउनुपर्ने धारणा राखेकी हुन्। उनले नेपालजस्तो देशमा दुई वटाभन्दा बढी ग्यास उद्योग आवश्यक नरहेको बताउँदै सबै उद्योग खारेज गर्नुपर्ने अवस्थासमेत औँल्याइन्।
“हाम्रो जस्तो देशमा दुई वटाभन्दा बढी ग्यास उद्योग चाहिएको छैन। साँच्चिकै सोध्नुहुन्छ भने धेरैमा दुई वटा,” उनले भनिन्, “सबै खारेज गर्नुपर्छ।”
ग्यासको आपूर्ति सहज बनाउन आफूले उद्योगीहरूसँग पटक–पटक आग्रह गरे पनि त्यसबाट परिणाम नआएको उनको भनाइ थियो। “मैले पनि हात जोडेरै सबैलाई भनेको छु कि ग्यासको आपूर्ति सहज बनाइदिनुस्। सबै उद्योगीलाई बसाएर भनेको छु,” उनले भनिन्, “तर हात जोडेर नहुँदोरहेछ भनेर बुझियो।”
मन्त्री यादवले उद्योगीहरूको प्रभावमा नीति तथा कानुन निर्माण हुने गरेको आरोप लगाउँदै कर्मचारीतन्त्रको कार्यशैलीप्रति असन्तुष्टि जनाइन्। उद्योगीको सुझावलाई समेटेर विधेयक तयार पार्ने तर सरकारले परिवर्तन गर्न खोज्दा कर्मचारीले असहयोग गर्ने गरेको उनको भनाइ थियो।
“सबै उद्योगीलाई राखेर हाम्रो देशलाई उनीहरूको हिसाबले चलाउने बनाइदिएको छ,” उनले भनिन्, “कर्मचारीले साथ नदिएसम्म तपाईं केही पनि गर्न सक्नुहुन्न।”
उनले उद्योगीहरूको प्रभावबाट समितिहरूलाई मुक्त गर्नुपर्नेमा जोड दिइन्। देशहित र राष्ट्रहितलाई प्राथमिकतामा राखेर कानुन बनाउनुपर्ने भन्दै उनले सबै समितिबाट उद्योगीलाई हटाउनुपर्ने धारणा राखिन्।
मन्त्री यादवले नेपालमा उद्योग स्थापना गर्न आवश्यक वातावरण नरहेको पनि बताइन्। स्वदेशी उद्योगले प्रयोग गर्ने कच्चा पदार्थभन्दा तयारी वस्तु आयात गर्दा सस्तो पर्ने अवस्थाले नेपाली उद्योगलाई प्रतिस्पर्धा गर्न कठिन भएको उनको भनाइ थियो।
“यहाँ उद्योगधन्दा खोल्ने वातावरण छैन, किनभने उद्योगीहरूको हिसाबले यहाँ बनाइएको छ, सबै नियम–कानुन त्यसरी छ,” उनले भनिन्।
आफूले सुधारका लागि पहल गर्दा उद्योगीहरूबाट विरोध भइरहेको बताउँदै मन्त्री यादवले कर्मचारीतन्त्र सुधार आवश्यक रहेको उल्लेख गरिन्। उनले कर्मचारीले आदेश पालना नगरेको अवस्थामा सरकार बलियो भए पनि काम गर्न कठिन हुने बताइन्।
“म धेरै चेन्ज गर्न खोजिरहेको छु, तर गर्न सकिरहेको छैन,” उनले भनिन्, “यो कर्मचारीतन्त्रलाई सुधार्नुपर्ने बेला आएको छ।”
मन्त्री यादवले ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूलाई कडाइका साथ नियमन गर्नुपर्ने निष्कर्ष सुनाइन्। “त्यो उद्योगीहरूलाई पाता नफर्काएसम्म यो ग्यास सहज हुँदैन भनेर मेरो अन्तिम विश्लेषण यही हो,” उनले भनिन्।



