काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीपछिको उद्धार, उपचार र राहतमा सरकारले तत्परताका साथ काम गरिरहेको भन्दै सरकारको बचाउ गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले विपत्तिको समयमा सरकार र विपक्षीको परम्परागत दृष्टिकोणबाट कामको मूल्याङ्कन गर्न नहुने बताए। उनले विपत्तिको सुरुकै घण्टामा सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको दाबी गरे।
“यो विपत्तिमा पनि सरकारको कामलाई सरकार र विपक्षीको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ,” उनले भने, “विपत्तिको सुरुकै घण्टामा सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको थियो।”
उनका अनुसार हजारौँ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। हवाई उद्धारको यति ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको उनको दाबी थियो।
घाइतेको उद्धार तथा उपचार, विस्थापितका लागि अस्थायी बसोबास र खाद्यान्न व्यवस्थापनमा सरकारको तत्परतालाई लिएर आफूले प्रश्न गर्ने ठाउँ नदेखेको लामिछानेले बताए।
‘राज्य कहाँ छ ?’ भन्नेहरूलाई लामिछानेको जवाफ
लामिछानेले राज्यले केही नगरेको र राज्य कहाँ छ भन्ने प्रश्न उठाउनेहरूलाई पनि जवाफ दिएका छन्।
“राज्यले केही गरेन, राज्य कहाँ छ ? भन्ने गरेको मैले सुनेको छु,” उनले भने, “राज्यले गरेन भन्ने कुराको सबैभन्दा शक्तिशाली खण्डन भनेको राज्य कहाँ छ ? भनेर दृश्यसहित स्पष्ट्याउनु हो।”
उनले विपत्तिपछिको उद्धार तथा राहतमा राज्यको उपस्थितिलाई विभिन्न उदाहरणमार्फत प्रस्तुत गरे।
उनका अनुसार राज्य अहिले भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ। सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका नागरिकको आश्रय बन्न दिनरात खटिरहेको छ।
त्यस्तै, बाढीले बगाएका सडक र चुँडिएका पुलसँगै विपत्तिले टुटाएको नागरिकको भरोसा जोड्ने प्रयासमा पनि राज्य लागिरहेको उनले बताए।
भविष्यमा यस्ता विपद् दोहोरिन नदिन पूर्वतयारी र सुरक्षित संरचनाको खाका तयार पार्ने काम भइरहेको उल्लेख गर्दै लामिछानेले राज्य स्रोतको अभाव र थकानलाई पन्छाएर नागरिकको जीवनरक्षाका लागि ढाल बनेर उभिएको दाबी गरे।



